खडेरीमा देवतासँग पानी माग्ने तीर्थस्थलको विकास गर्ने सम्भावना उच्च

पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३३ भरत पोखरीको बरस्थित चण्डी देउराली थान खडेरी परेमा पानी माग्ने तीर्थस्थल हो ।

परापूर्वकालदेखि लामो समय खडेरी परेमा स्थानीयवासी जुटेर पाठीको बली सहित घरघरबाट ल्याएको पानी ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै छ्यापेर सामूहिक पूजा गरेमा एक हप्ताभित्रमा पानी पर्ने जनविश्वासका आधारमा यो तीर्थस्थललाई निकै महत्वका साथ हेर्ने गरिएको छ ।

विगत आठ वर्षअघि सम्म कुनै मन्दिर नरहेको र सामान्य चौतारोमा रहेका शिलालाई पूजा गर्ने गरेका स्थानीयवासी पछिल्ला वर्षमा भने मन्दिरलाई व्यवस्थित गर्दै त्यहाँ आवश्यक पूर्वाधार विकासमा जुटेका छन् ।

सिलिङ्गे चेतना महिला समूहको सक्रियतामा सात वर्षअघि स्थानीयवासीको जनश्रमदानबाहेक ५२ हजार ८०० रुपैयाँको लागतमा मन्दिरको संरचना तयार गरिएको समूहकी तत्कालीन अध्यक्ष सीता पौडेलले जानकारी दिनुभयो ।

“धार्मिक महत्वको महत्वपूर्ण स्थल भएर पनि सामान्य मन्दिरसमेत नभएका अवस्थामा समूहको पहलमा मन्दिर निर्माण गरेका हौँ,” उहाँँले भन्नुभयो, “मन्दिरको संरचना निर्माण भएसँगै पूजाआजा गर्न निकै सहज भएको छ नै, त्यसमा पनि आवश्यक पूर्वाधार विकास गरिएमा यसलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा समेत विकास गर्न सकिन्छ ।”

कास्कीको छोरेपाटन–लामेआहाल ग्रामीण सडक मार्गमा पर्ने मनियलडाँडा बसपार्कबाट पर्यटकीयस्थल हुडिकोट जाने शाखा मार्गको बीच भागमा चण्डी देउराली मन्दिर पर्दछ । माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिम शृङ्खलाका साथै यहाँबाट देखिने स्याङ्जा, तनहुँ, लम्जुङ, पाल्पा लगायतका जिल्लाका उच्च पहाडी दृश्यले जो कोही पर्यटकलाई लोभ्याउने गर्दछ ।

मन्दिर र यसको परिसरलाई भौतिक पूर्वाधार सम्पन्न गराउने सोचका साथ सिलिङे महिला चेतना समूहको वर्तमान कार्यसमितिले पनि निर्माणका गतिविधिलाई सक्रियताका साथ अघि बढाएको छ ।

समूहकी अध्यक्ष कर्णकुमारी महतका अनुसार समूहको सक्रियतामा पोखरा लेखनाथ महानगरपालिकाबाट मन्दिर परिसरमा पर्खाल लगाउनका लागि हाल रु ५० हजार विनियोजन भई काम अघि बढाइसकिएको छ । “नगरपालिकाबाट छुट्याइएको रु ५० हजार सहयोगका अतिरिक्त परिसरमा पर्खाल लगाउन स्थानीयवासीले पनि अत्यन्त उत्साहका साथ जनश्रमदान गरिरहेका छन्,” उहाँले भन्नुभयो, “बजारको मूल्य वृद्धि लगायतका कारणबाट पर्खाल निर्माणलाई सम्पन्न गर्न भने जनश्रमदानबाहेक नै लागत बढेर लगभग रु ८० हजारसम्म पुग्ने देखिएको छ ।”

पूर्वाधार विकास गर्न सकिएमा चण्डी देउराली र आसपासका क्षेत्रमा धार्मिक पर्यटकलाई समेत पु¥याउन सकिने अध्यक्ष महतले बताउनुभयो । परापूर्वकालदेखि नै खडेरी पर्दा होस् वा खेतीबालीको सहकाल आदिको कामनासहित स्थानीयवासीले सामूहिक रुपमा चण्डी देउरालीको पूजाआजा गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

विगतमा पाठीको बलिसहित पूजाआजा गर्ने प्रचलन रहेकामा पछिल्ला वर्षमा पाठीको बलि दिने वा नदिने सम्बन्धमा दुई मत देखिएको छ । केही स्थानीयवासी पाठीको बलि नदिएर नरिवल फुटाएर पूजा गर्नुपर्ने पक्षमा देखिएका छन् भने केही प्राचीन परम्परालाई निरन्तरता दिनुपर्ने तर्क गर्दछन् ।

व्यक्तिगत रुपमा पनि पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा होस् भन्दै चण्डी देउरालीमा स्थानीयवासीले पूजाआजा गर्ने गरेकोे स्थानीय समाजसेवी गुरुप्रसाद पौडेलले बताउनुभयो । पौडेलका अनुसार चण्डी देउराली थानका साथै यहाँ नजिकै रहेको मल्लकालीन कोटभैरब मन्दिर, पर्यटकीयस्थल हुडिकोट आदिलाई समेटेर समग्र रुपमा नै यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रचुर सम्भावना छ ।

यस्तो सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासका साथै प्रचारप्रसारको आवश्यकता रहेको उहाँको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!