मन्त्री बिना मगरद्वारा ३ विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

कञ्चनपुर, १० बैशाख । खानेपानी मन्त्री बिना मगरले विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको छ ।

सरकारले देशैभरि सञ्चालन गरेको राष्ट्रिय अभियानमा सहभागिता जनाउन कञ्चनपुर पुग्दै मन्त्री मगरले बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकाका ३ विद्यार्थीलाई भर्ना गराउनुभएको हो ।

मन्त्री मगरले बेलौरी नगरपालिका १० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराउनुभएको छ ।

शिवनगरको शिद्धेश्वर माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले अभिभावकत्व ग्रहण गर्ने अभियान सन्देशात्मक भएको बताउनुभयो ।

‘भर्ना अभियानले गाउँगाउँ र वडावडामा जागरण पैदा गरेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारको भर्ना अभियानलाई सफल बनाउन सबैले बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।’

गरीब र सबै वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले अभियान थालेको उहाँले बताउनुभयो ।

‘समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन विद्यार्थी भर्ना अनिवार्य हुन्छ,’ उहाँले भन्नुभयो, ‘शिक्षालाई रोजगारमुलक बनाएर समृद्धि ल्याउन सकिन्छ ।’ विद्यार्थी भर्ना अभियान सरकारको मात्र नभई सबै जनताको भएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!