काभ्रेमा मयूरका चालकमाथि निर्घात कुटपिट

काभ्रेपलाञ्चोक, वैशाख १० । मयूर यातायातका चालकमाथि आइतबार साँगामा निर्घात रूपमा कुटपिट भएको छ । कुटपिटबाट बसका चालक रामेश्वर सुनार घाइते भएका छन् ।

आक्रमणकारीले ३८ वर्षीय सुनारले चलाएको बा५ख १५४६ नम्बरको बसमा पनि क्षति पु¥याएको बताइएको छ । उनको काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गत १ चैतदेखि काभ्रेसम्म सेवा विस्तार गरेको मयूरमाथि पुरानो यातायात सेवा समितिहरू आक्रमणमा उत्रिएको मयूर यातायात समितिका अध्यक्ष मोहनबहादुर श्रेष्ठले बताए । बसलाई जलाउनेसम्मको अभिप्रायले बस र चालकमाथि सांघातिक आक्रमण भएको उनको भनाइ छ । बसको चालकले गाडीको ढोका नखोलेको कारणले ठूलो क्षीतबाट जोगिएको अध्यक्ष श्रेष्ठले बताए ।

सरकार सिन्डिकेटविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएसँगै नयाँ बसहरूले प्रालिमार्फत सेवा प्रारम्भ गरेको करिब डेढ महिनापछि काभ्रेको साँगामा भौतिक आक्रमण भएको हो । कुटपिट गर्ने पाँच जनालाई इलाका प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

काभ्रे मिनीबस सेवा समितिले सञ्चालन गरेको पनौती–काठमाडौ चल्ने बा५ख २६३९ बससँगै कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापाले बताए । उक्त बसका चालक पनौती नगरपालिका–७ का सुमन श्रेष्ठ र सहचालक तीर्थ पियालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख थापाले बताए । चालक कुटपिटमा संलग्न रहेको भन्दै परिचन्द्र श्रेष्ठ, सुमन धिमाल र विजय थापालाई पनि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख थापाले बताए ।

यसअघि काभ्रेमा मयूरमाथि भौतिक अवरोधको प्रयास भए पनि मानवीय भौतिक आक्रमण भने भएको थिएन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!