चेल्सी फाइनलमा, हुने भयो घोर विरोधी प्रशिक्षकबिच प्रतिस्पर्धा

काठमाडौं, वैशाख १० । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० ले हराउँदै चेल्सीले म्यानचेस्टर युनाइटेडसँगको फाइनल भेट पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा ओलिभर जिरउड र अल्भारो मोराटाले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

४६ औँ मिनेटमा जिरउडले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । खेल सकिन ८ मिनेट हुँदा मोराटाले गोल गरे र टिमलाई २–० को जित दिलाए । मोराटा जिरउडलाई रिप्लेस गर्दै खेलको १० मिनेट बाँकी हुँदा मैदान छिरेका थिए ।

साउथह्याम्पटनका नाथन रेडमोण्डले गोल गर्ने राम्रो मौका बनाएका थिए । यस्तै चार्ली अस्टिनको प्रहार भने पोस्टमा लागेर फर्किएको थियो ।

चेल्सीले अब उपाधिका लागि आउँदो मे १९ मा वेम्बलीमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेस्टर युनाइटेड शनिबार राति भएको खेलमा टोटनह्यामलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ।

चेल्सीको जितको अर्थ एफए कपको फाइनलमा दुई यस्ता प्रशिक्षकबिच भेट हुने भएको छ, जसको सम्बन्ध निकै तितो छ । एक अर्काका घोर विरोधी हुन् युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो र चेल्सीका प्रशिक्षक एन्टोनी कोन्टे ।

मोरिन्हो चेल्सीका पूर्व प्रशिक्षक पनि हुन् । यो सिजनभर मोरिन्हो र कोन्टेले एक अर्काको उछितो निकै काटेका छन् ।

सन् २००७ मा मोरिन्हो चेल्सीका प्रशिक्षक थिए र त्यसबेला एफए कपको फाइनलमा युनाइटेडसँग भेट भएको थियो । त्यसबेल उनले टिमलाई १–० ले जितएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!