पार्टी एकताको मोडालिटीमा सहमति भइसकेको छ, अब हल्ला नगरी ढ्याम एकता हुन्छ : प्रचण्ड

काठमाडौं, वैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताका लागि शनिबार मोडालिटीमा सहमति भएको खुलासा गरेका छन् ।

आइतबार लेनिन दिवस एवं नेपालमा कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर राजधानीको राष्ट्रिय सभा गृहमा एमाले–माओवादीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘शनिबार एमाले अध्यक्ष केपी ओली र मबीच पार्टी एकताका लागि मोडालिटीमा सहमति भएको छ ।’

प्रचण्डले भनेृ, ‘पार्टी एकताको नयाँ मोडालिटीमा तीन आधार तय भएका छन् । सम्मानजनक, समानता र नयायोचित । हामी अब यी आधारमा संभव भएसम्म छिटो पार्टी एकताको घोषणा गर्दछौं । तर त्यो हल्ला गरेर होइन असोज १७ गते जस्तै गरी ढ्याम्मै एकता गछौं र गर्नुपर्छ ।’

विगतको एमाले सँगको सम्बन्धलाई स्मरण गर्दै प्रचण्डले भने, ‘ हिजोका दिनमा हामी ह्रस्व, दीर्घ, कमा र पूर्ण विराममा पनि विवाद गथ्र्यौ तर आज समय फेरिएको छ । समयको माग र जनअपेक्षा चुनावी तालमेलले मात्रै पूर्ती गर्दैन भनेर बृहत वाम एकता प्रक्रियामा कमरेड केपी ओली र म लगायतका नेता जुटियौं । पार्टी एकता प्रक्रिया अहिले अन्तिम विन्दूमा छ ।

यसअघि वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने भनिएकोमा विभिन्न कारणले आज सम्भव नभएपनि पार्टी एकताबारे आम नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त संयुक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

तर दिउँसो १ बजेका लागि तय गरिएको कार्यक्रम व्यानरमा माक्र्स र लेनिनको तस्वीर नराखेपछि माओवादीका नेता तथा कार्यकर्ताको विरोधपछि करीब चार घण्टापछि एमाले र माओवादीको अलग अलग व्यानर राखेर कार्यक्रमलाई अगाडि बढाउने सहमतिपछि कार्यक्रम शुरु भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!