अझै शुरू हुन सकेन कार्यक्रम, ब्यानरले निम्त्यायो लफडा

काठमाडौं, वैशाख ९ । नेकपा एमाले र माओवादी केन्द्रबीच गएको असोजदेखि शुरु भएको एकता प्रक्रियालाई यसअघि आज औपचारिक रुपमा घोषणा गर्ने भन्दै आइएको थियो ।

तर एकीकृत पार्टीको नेतृत्व, चुनाब चिन्ह, अन्तरिम विधानमा जनयुद्ध राख्ने र तलदेखि माथिसम्म समान हेशियत जस्ता विषयमा कुरा नमिलेपछि एकताको घोषणा गर्न नसकेपनि एकताप्रति सकारात्मक सन्देश प्रवाह गर्न आज १ बजे गर्ने भनिएको कार्यक्रम व्यानर विवादका कारण अपरान्ह साँढे ३ बजेसम्म पनि शुरु हुन सकेको छैन ।

दुवै पार्टीका थुप्रै नेता कार्यक्रमसथलमा अपरान्ह १ बजे नै पुगेका थिए तर कार्यक्रम स्थलमा राखिएको व्यानरमा विवाद भएपछि अहिलसम्म कार्यक्रम औपचारिक रुपमा शुरु हुन सकेको छैन् ।

लेनिन दिवसमा कार्यक्रमको व्यानरमा मार्क्स–लेनिनको फोटो नभएपछि विरोध भयो र पछि त्यो त्यो फोटो हटाइयो । विवाद समाधानका लागि नेताहरू अनौपचारिक छलफल गरिरहेका छन् ।

यसअघि एकता घोषणा गर्ने भनिएको आजको कार्यक्रम हेर्न नेता, कार्यकर्ता र आममानिसको ठूलो भीड लागेको छ ।

कार्यक्रम स्थलमा ठूलो संख्यामा नागरिकहरुको उपस्थिति रहने विश्वासका साथ र कार्यक्रयस्थल सानो भएकाले बाहिर पर्दामा भित्रको कार्यक्रम हेर्न पाइने व्यवस्था गरिएको छ ।

व्यानरमा एमालेकरण भएको भन्दै माओवादी नेता तथा कार्यकर्ताले व्यापक विरोध जनाएका छन् । एमालेले कम्यूनिष्ट पार्टीका संस्थापक माक्रर्स, लेनिन र माआको तस्वीर आफ्नो व्यानरबाट धेरै पहिलादेखि हटाइसकेको छ । तर माओवादीले अहिले पनि माओवाद मान्छ र माक्रर्स, लेनिन र माओलाई आफ्ना राजनीतिक गुरु मान्दछ ।

कार्यक्रमस्थलमा माक्र्स र लेनिनको तस्वीरै नभएपछि सामाजिक सञ्जालमा कम्यूनिष्टको खिल्ली उडाएको भन्दै व्यापक विरोध भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!