क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्छ : मन्त्री बिना मगर

चितवन, वैशाख ९ । खानेपानी मन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरबाट क्यान्सर जाँचका लागि आएका बिरामी भेट्न अस्पताल पुग्नुभएकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री मगरले अस्पतालको सेवामा सबैको सहज पहुँचका लागि क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको हो ।

‘क्यान्सरको समस्या देशैभरि विकराल छ, क्यान्सरको जाच र उपचारका लागि सबै क्षेत्रमा शाखा खोल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘क्यान्सरको उपचारका लागि विश्वासिलो बनेको अस्पताल सेवालाई सबैको पहुँचमा पुर्याउनुपर्छ ।’

गरिबी र अशिक्षाका कारण ग्रामीण क्षेत्रका महिलामा स्तन तथा पाठेघरको मुखको क्यान्सरको समस्या रहेको उहाँले बताउनुभयो । ‘कञ्चनपुरमा क्यान्सर जाच शिविर सञ्चालन गर्दा विकराल अवस्था देखियो,’ उहाँले भन्नुभयो, ‘सबै महिलाको क्यान्सर जाच र उपचारका लागि अस्पतालले क्षमता बढाउनुपर्छ ।’

क्यान्सर रोगका कारण दिवङ्गत हुनुभएकी ज्ञानु दाहाल र पति प्रकाश दाहालको सम्झनामा मन्त्री मगरको पहलमा क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कञ्चनपुरमा गत चैत १८ गतेदेखि २१ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । शिविरमा झण्डै २ हजार महिलाले स्तन तथा पाठेघरको मुखको क्यान्सरको जाच गरेका थिए ।

शिविरमा क्यान्सरको आशङ्का गरिएका १४ जना महिला विशेषज्ञ जाचका लागि चितवन आएका छन् । विशेषज्ञ जाचका आधारमा उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालका क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार १४ जनामध्ये ४ जनाको पाठेघरको मुखमा मासु पलाएको, ४ जनाको पाठेघरमा घाउ भएको र ६ जनाको पाठेघरको पानी खसेको प्रारम्भिक जाचमा देखिएको थियो । ‘१ हप्तापछि जाचको अन्तिम रिपोर्ट आउने छ,’ उहाँले भन्नुभयो ।

मन्त्री मगरको स्वागत कार्यक्रममा बोल्दै अस्पतालका निमित्त कार्यकारी निर्देशक शिवजी पौडेलले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

‘क्यान्सर अस्पताल मेडिकल सिटीको मेरुदण्ड हो,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय अस्पताल भएकाले क्यान्सर अस्पताल केन्द्रीय राजनीति र सरकारका योजनाबाट प्रभावित हुन्छ ।’

अस्पताललाई २ सय सैय्याको बनाउन र नयाँ उपकरण जडान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!