राजेन्द्रकुमारको निर्देशित सातौं चलचित्र ‘पसले’ को छायांकन सम्पन्न

निर्देशक राजेन्द्रकुमार अर्याल ‘राजु’ निर्देशित सातौ फिल्म ‘पसले’ को सम्पूर्ण छायांकन सकिएको छ ।

एनपी फिल्मस् प्रोडक्सन प्रालिका लागि निर्माताद्वय सञ्जयकुमार थापा र गणेशप्रसाद चुँडालले यो चलचित्र निर्माण गरेका हुन ।

काठमाडौं, काभ्रे, धनगढी र चितवनमा यो चलचित्रको छायांकन गरिएको हो ।

निर्देशक अर्यालले ‘पसले’ जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदमा केन्द्रित रहेको बताए ।

यसअघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्यौल यात्रा’, ‘सीता’, ‘जिन्दगी’, ‘जस्ट फर यू’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स निर्देशक हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’लाई निर्देशक स्वयं अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर चलचित्र निर्देशन गर्ने उनको चाहना रहेको छ ।

यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्यौल यात्रा’ निर्माण गरेका थिए ।

मेकिङको हिसाबले उनको यो दोस्रो चलचित्र हो । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनीता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ ।

चलचित्रमा किरण दाहालको द्वन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज डेट भने हाल तय गरिएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!