प्रदिप नेपालको पुस्तक विमोचन गर्दै सभामुख महराले भने- साहित्य समाजको एेना र परिवर्तनको दर्शन हो

काठमाडौं, वैशाख ८ । सभामुख कृष्णबहादुर महराले साहित्य समाजको यथार्थता देखाउने र परिवर्तन गर्ने दर्शन भएको बताउनुभएको छ ।

साहित्यकार प्रदीप नेपालद्वारा लिखित ‘देशको खोजी’ कथा संग्रहको आज (शनिबार) पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आयोजित पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले साहित्य समाजको यथार्थता देखाउने दर्शन भएको बताउनुभएको हो ।

०३७/३८ सालतिर आफूले साहित्यकार प्रदीप नेपालको कथा सञ्जय थापाको नामबाट पढ्ने मौका पाएको भन्दै सभामुख महराले आफू निकै प्रभावित भएको बताउनुभयो । ‘मैले सञ्जय थापाको ‘दमाईको दुकानमा चिया खाइयो’ भन्ने कथा पढेको थिएँ, सभामुख महराले भन्नुभयो, ‘त्यसले मलाई निकै प्रभावित बनाएको थियो ।’

त्यतिबेला जातीय छुवाछूत विरुद्ध आवाज उठाउन निकै गाह्रो रहेको सम्झदै महराले भन्नुभयो, ‘त्यस्तो बेला लेखिएको त्यो कथाले सबैलाई निकै प्रभावित बनाएको थियो ।’
आफूलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्ने व्यक्तिहरु पनि साहित्यकार नै भएको चर्चा गर्दै महराले मोहन वैद्य ‘किरण’ र कृष्ण सेन इच्छुकले आफूलाई राजनीतिक क्षेत्रमा लाग्न प्रेरित गरेको बताउनुभयो ।

‘साहित्यकार कृष्ण सेन इच्छुक मेरो एकदम मिल्ने साथी हुनुहुन्थ्यो । मलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्नेमा उहाँको ठूलो भूमिका छ’ महराले भन्नुभयो, ‘चिनजान नभए पनि हामीबीच झण्डै दुई सयजति पत्रहरु आदान प्रदान भएका थिए ।’

आफूलाई नयाँ दृष्टिकोण बनाउन र माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्न सेनका साहित्यिक पत्रहरुले निकै भूमिका खेलेको भन्दै सभामुख महराले हरेक राजनीतिक व्यक्तिको प्रस्थानविन्दू अर्थात् अन्तरचक्षु साहित्यभन्दा पर हुन नसक्ने बताउनुभयो ।

त्यस्तै, अर्को प्रसंगमा सभामुख महराले साझा प्रकाशन जनताको साझा सम्पत्ति भएको बताउनुभयो । जनताको सम्पत्ति जोगाउन जनता नै जागरुक हुनुपर्ने भन्दै सभामुख महराले साझा प्रकाशन टिकाउन सरकार, निजी क्षेत्रलगायतको सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

सभामुखको हैसियतले आफूले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै महराले साझा प्रकाशनले साहित्यप्रेमी सांसदहरुलाई बोलाएर बृहत अन्तरक्रिया गर्न सके राम्रो हुने सुझाव दिनुभयो ।

यसैबीच सोही कार्यक्रममा साहित्यकार तेजेश्वरबाबु ग्वगःद्वारा लिखित ‘रङ्ग अभिज्ञान’ निबन्ध संग्रहको शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतमले रङ्ग अभिज्ञान निबन्ध संग्रहको समीक्षा गर्नुभएको थियो भने प्रा.डा. दयाराम श्रेष्ठ र खगेन्द्र राईले देशको खोजी कथा संग्रहको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!