हिमालको पानी विदेशमा बेचेर समृद्धिमा योगदान गर्छौ : मन्त्री मगर

काभ्रे, वैशाख ८ । खानेपानी मन्त्री बिना मगरले जनतालाई खानेपानीको सुविधा पुर्याएपछि हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताउनुभएको छ ।

काभ्रेको बनेपा नगरपालिका १३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्न सकिने बताउनुभयो ।

‘सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउने पहिलो दायित्व हो, सङ्गसङ्गै खानेपानी उद्योग स्थापना गरेर आयआर्जन र रोजगारी सिर्जना गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

समितिले १० महिनामा सक्ने काम ६ महिनामा सकेकोप्रति प्रशंसा गर्दै मन्त्री मगरले भन्नुभयो, ‘अधिकांश कामहरु ढिला हुन्छन्, एक वर्षमा सक्नुपर्ने काम गर्न २/३ वर्ष लाग्छ । तर, १० महिनामा सक्नुपर्ने खानेपानी आयोजना ६ महिनामै सकेर उदाहरणीय काम गर्नुभएकोमा उपभोक्ता समितिलाई धन्यवाद ।’

खानेपानी आयोजनामा मोवाइलबाट सञ्चालन र बन्द हुने प्रविधि जडान गरिनु प्राविधिक सोचको व्यवहारिक प्रयोग भएको मन्त्री मगरले बताउनुभयो ।

तराई र पहाडी क्षेत्रमा स्वच्छ खानेपानीको सहज उपलब्धताका लागि मन्त्रालयले योजना बनाइरहेको मन्त्री मगरले बताउनुभयो ।

‘मन्त्रालयले कर्णाली, भेरी, नारायणी, कोशी लगायतका नदीबाट तराईका जिल्लामा खानेपानीको व्यवस्था मिलाउने योजना बनाइरहेको छ,’ मन्त्री मगरले भन्नुभयो, ‘पहाडमा डिप ट्युबवेल प्रविधि र लिफ्ट प्रविधिबाट पानी पुर्याउन देशैभरिको योजना बन्दैछ ।’

अहिलेसम्म खानेपानीमा राज्यको ध्यान नपुगेको बताउँदै मन्त्री मगरले अहिलेको स्थिर सरकारले खानेपानीलाई बाटो, बिजुली, शिक्षाभन्दा प्राथमिकतामा राख्ने बताउनुभयो । ‘पानी संकलनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरि सोचिरहेका छौ,’ उहाँले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!