युइएको जेलमा १८५ नेपाली, वेश्यावृत्ति, मदिरा र झगडा मुख्य कारण रहेको दूतावासको दावी

युएई, बैशाख ८ । नेपाली दूतावास युएईले तयार पारेको प्रतिबेदन अनुसार हाल युएईको जेलमा १८५ जना नेपालीले कारावासको सजाय भोगिरहेका छन ।

नेपाली दूतावास युएईले तयार पारेको जेल भ्रमण प्रतिवेदनमा नेपाली हरु कस्तो कस्तो अबस्थामा जेल परेका हुन र उनिहरुका कसुर के के हुन भन्ने विवरण उल्लेख छ ।

दूतावासले परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई पठाउन तयार पारेको प्रतिवेदनमा ३६ जना नेपालीले हालै आममाफी पाएर नेपाल फर्कन लागेको उल्लेख छ ।

उनीहरुमध्ये कतिपयलाई विभिन्न अवसरमा युएईले आममाफी दिएको छ । अरु भने सजाय भुक्तान गरेर रिहा हुन लागेका छन् । १७३ जना पुरुष र १२ जना महिला गरी १ सय ८५ जना नेपालीले अहिले पनि युएईका विभिन्न जेलमा सजाय भोगी रहेका छन् ।

नेपाली दूतावासका प्रतिनिधि सहितको टोलिले कामदारको अवस्था र मुद्दाको अध्ययन गर्दै युएईको दुवई, सारजाह, आबुधाबी, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका आठ वटा जेलमा पुगेर साथै स्थानीय प्रशासनका उच्च अधिकारी र नेपालीले काम गरेका कम्पनीका प्रतिनिधिसँग समेत भेटघाट गरि प्रतिबेदन तयार पारेको दूतावास स्रोतले जानकारी दिएको छ ।

प्रशासनका उच्च प्रतिनिधिहरु सङको भेटमा नेपाली कामदारलाई परेको मुद्दा र त्यसबारे गर्न सकिने समन्वयका लागि दूतावासले चासो देखाएको थियो । यसअघि पनि पटक पटक दूतावासले जेलमा पुगेर त्यहाँ रहेका नेपालीको अवस्था बुझ्दै आएको भएपनि युएईमा रहेका सबै जेलमा दूतावासका प्रतिनिधि पुगेको यो चौंथो पटक हो ।

वर्षको दुई पटक सबै जेल पुग्ने योजना अन्तर्गत यो पटक सबै जेलको भ्रमण गरिएको हो । नियमित रुपमा यहाँका जेल पुग्ने र कैदी जीवन बिताइरहेका नेपालीको अवस्थाबारे बुझ्न सम्बन्धित प्रशासनसँग सम्बन्ध बढाउने प्रयास स्वरुप कुटनीतिक प्रयास पनि थालिएको छ कार्यवाहक राजदुत सागर फुँयालको भनाइ छ ।

यस पटकको भ्रमणमा राजदूत फुँयालले जेल प्रशासन तथा माथिल्लो निकायका प्रतिनिधिसँग भेटेर छलफल समेत गरेका थिए भने जेल भ्रमणपछि नेपालीको अवस्थाबारे प्रतिवेदन तयार पारी परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई बिहीबार पठाइएको दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिएका छन ।

यसरी जेल सजाय भोग्नेमा अधिकाम्स सार्बजनिक स्थानमा गरिने यौन क्रियाकलाप र बेश्यावृत्ति अनि मदिराको सेवन गरि होहल्ला र झैझगडा गर्नु नै प्रमुख कारण रहेको अध्ययनले निष्कर्ष निकालेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!