इन्जुरी समयको गोलले रेलिगशनमा पर्यो ला लिगा क्लब मालागा  

काठमाडौं, वैशाख ७ । स्पेनिस क्लब मालागा स्पेनको शीर्ष फुटबल लिग ला लिगाबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लेभान्टेसँग पराजित भएपछि मालागा रेलिगेशनमा परेको हो ।

यो सिजन युरोपका शीर्ष पाँच लिगबाट रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ मालागा । घरेलु मैदानमा भएको खेलमा लेभान्टेले मालागालाई १–० ले हराएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा इन्जुरी समयको तेस्रो मिनेटमा बोएटेङ्गले लेभान्टेका लागि विजयी गोल गरे । उनको गोल मालागाका लागि शीर्ष लिगको यात्रा टुंगिने कारण बन्यो ।

लिगमा पाँच खेल बाँकी हुँदै मालागा रेलिगेशनमा पर्ने पक्का भएको हो । उसले ३३ खेलबाट मात्रै १७ अंक जोडेको छ । मालागा सन् २००८ देखि लगातार ला लिगामा थियो । मालागाले पाँच वर्ष अघि च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!