पेट्रोलियम पदार्थको भारत तस्करी, प्रहरीकै उपस्थितिमा बिक्री वितरण

काठमाडौं, बैशाख ७ । ग्रामीण तथा सीमा क्षेत्रका पेट्रोल पम्पबाट इन्धन भारत तस्करी हुन थालेपछि बिहीबारदेखि प्रहरीकै उपस्थितिमा पेट्रोलियम पदार्थको बिक्री गर्ने नीति ल्याइएको छ । रौतहट प्रशासनले जिल्लाका सबै पम्पमा सुरक्षाकर्मी खटाएको छ । राति इन्धन बिक्री गर्न पम्पलाई रोक लगाएको छ । पम्प सञ्चालकले पेट्रोलियम पदार्थको कृत्तिम अभाव देखाएपछि रौतहटमा हाहाकार छ ।

नेपाल र भारतबीच मूल्य अन्तर बढेपछि नेपालबाट पेट्रोलिय पदार्थको तस्करी बढेको छ । अहिले नेपालमा भारतभन्दा पेट्रोल प्रतिलिटर २२ रुपैयाँ र डिजेल २८ रुपैयाँ सस्तो छ । दुबै देशका तस्करले ग्यालेन र जर्किनमा इन्धन बोकेर भारततर्फ तस्करी गरिहेको छ । पम्पले इन्धनको अभाव देखाएपछि पेट्रोलियम पदार्थको भारत तस्करी भएको उजुरीपछि सुरक्षाकर्मीको रोहबरमा बिक्री गर्ने ब्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए ।

‘केही ठूला पम्पबाट समेत इन्धनको तस्करी भइरहेको छ,’ उनले भने, ‘अब भारततिर तस्करी गरिए भने कारबाही हुन्छ । इन्धनको तस्करी रोक्न ग्यालेन र जर्किनमा इन्धन बिक्री गर्न प्रतिबन्ध लगाइएको छ ।’ रातको समयमा इन्धन तस्करी हुने भन्दै प्रशासनले रोक लगाएको छ । गौर, शिवनगर र गरुडालगायतका सिमाक्षेत्रका पम्पहरुबाट भारत इन्धन तस्करी भइरहेको छ ।

नाफा बढी हुने भएपछि भारतीय सीमा नजिकका पेट्रोल पम्पबाट बिचौलियाले पेट्रोलियम पदार्थ भारततर्फ ओसारपसार गर्दै आएका छन् । उनीहरूले १० लिटरदेखि ५० लिटरसम्मका प्लास्टिकका जर्किन एकैपटक बोकेर इन्धन भारत लगेर बेच्छन् । डेढ सातादेखि जिल्लाभरि पेट्रोलियम पदार्थको अभाव छ । ठूला र साना गरी ४४ वटा पेट्रोल पम्प रौतहटमा छ । रातमा भारतीय नम्बर प्लेट भएका टयाक्टरले ड्रममा भरेर डिजल र पेट्रोल लैजाने गरेको भन्दै स्थानीयले प्रशासनलाई जानकारी गराएका छन् । गौरको पम्पबाट लक्ष्मीपुर, बेलबिछवा, ब्रहम्पुरी, महादेवपट्टी हँुदै बैरगनीया बजार लग्ने गरिएको छ । राजपुर दमार, बंकुल, कुडिया, रामपुर खाप, औरैया, जयनगर, मठिया महुलिया, नरकटिया नाकाबाट भारतीय बजारमा इन्धन तस्करी हुने गरेको छ ।

कहाँ गयो इन्धन
नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदिप यादवले पम्प सञ्चालकलाई तालिका अनुसार नै इन्धन वितरण गरिएको बताए । ‘हामीले प्रक्रिया पुर्‍याएर डिजेल–पेट्रोल दिएका छांै,’ उनले भने, ‘यहाँ कुनै अभाव छैन । किन अभाव देखाइएको हो बुझ्छौं ।’ आयल निगमले रौतहटमा प्रति महिना डिजल १ लाख र पेट्रोल ५० हजार लिटर आउँछ । यति धेरै इन्धन कहाँ गयो भन्नेमा निगम आफैं आश्चर्यमा परेको छ । इन्धन तस्करी हुन थालेपछि प्रशासनले निगमलाई कडाइ गर्न अनुरोध गरेको छ ।

इन्धन बिक्रेताहरूले पम्पबाट नेपाली ग्राहकलाई नदिई भारतीय ग्राहकलाई इन्धन दिन थालेको प्रशासनमा गुनासो गरेका छन । गहुँ, मसुरो भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्नुपर्ने र त्यसका लागि इन्धन खरिद गर्दा पम्प संचालकले दिन आनाकानी गरेको किसानले बताए ।
कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!