भारतमा बलात्कार विरोधी कार्टुन बनाएकोमा धम्की

नयाँ दिल्ली। भारतमा पत्रकार एवं कार्टुनिस्ट स्वाती वडलामुडीले बनाएको विवादास्पद कार्टुनपछि सामाजिक संजालहरूमा उनलाई धम्कीहरू आउने क्रम सुरु भएको छ ।

स्वातीले बढ्दो बलात्कारका घटनाहरूलाई इंगित गर्दै एउटा कार्टुन बनाएकी थिइन् जसमा भगवान रामसँग उनकी पत्नी सीताले उनको अपहरण कुनै रामभक्तले नगरी राक्षसहरूको राजा रावणले गरेकोमा आफू खुसी भएको रहेको कुरा भनिरहेकी छिन् ।

विवादास्पद कार्टुन

यस कार्टुनको उद्देश्य हालका बलात्कारका केही मुद्दाहरूमा आरोपीहरूको समर्थनमा उत्रिएका केही दक्षिणपन्थी तत्वहरूको आलोचना गर्नु रहेको थियो ।

यो कार्टुन सामाजिक संजालहरूमा खुबी भाइरल भएको थियो तर यसमा रामायणका पात्रहरूको चित्रण गरिएको भन्दै तत्कालै विवाद समेत सुरु भएको थियो ।

पछिल्लो पटक भारत प्रशासित कश्मिरको कठुआ जिल्लामा आठ वर्षीय बालिकाको सामुहिक बलात्कारपछि हत्याको आरोप लागेकाहरूको समर्थनमा आयोजित ऱ्यालीमा सत्तारूढ दल बिजेपीका दुई जना मन्त्रीहरू उपस्थित भएपछि देशभरी आक्रोश देखिएको थियो ।

त्यस्तै अर्को भारतीय राज्य उत्तर प्रदेशको उन्नाव जिल्लामा एउटी महिलाले बिजेपी सांसदमाथि बलात्कारको आरोप लगाउँदै आत्मदाहको प्रयास गरेकी थिइन् ।

पत्रकार स्वाती वडलामुडीले यस्ता धम्कीहरूले आफूलाई अझ बलियो बनाएको प्रतिक्रिया दिएकी छिन् । सत्तारूढ पार्टी सर्वसत्तावादतिर जान थालेको आरोप लगाउँदै उनले भनेकी छिन्- आफूलाई रामभक्त भनाउनेहरूले बलात्कारीहरूको समर्थन गर्नु लज्जाजनक छ ।

उनलाई आएका धम्कीहरूमा हिन्दूत्वको जडता विरुद्ध लेख्ने पत्रकार गौरी लंकेशको समेत प्रसंग आएको थियो जसको गत वर्ष हत्या भएको थियो ।

उता एउटा दक्षिणपन्थी समुहले उनको कार्टुनले हिन्दूहरूको भावना आहत भएको भनाई प्रहरी समक्ष मुद्दा दायर गरेको छ ।

भारतका महिला संगठनहरू एवं भरिय पत्रकार संघले यसलाई ‘प्रेसमाथिको आक्रमण’को संज्ञा दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!