चीन–नेपाल–भारत जोड्ने आर्थिक कोरिडोर निर्माण गर्न चीनको प्रस्ताव

काठमाडौं, वैशाख ६ । चीनले नेपाल, भारत र चीन जोड्ने आर्थिक कोरिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्नका लागि प्रस्ताव अघि सारेको छ ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको दुई–पक्षीय वार्तापछि चीनले यस्तो प्रतावअघि सारेको हो ।

परराष्ट्रमन्त्री ज्ञवाली यतिबेला पाँच दिने चीन भ्रमणमा रहेका छन् ।

दुई नेताबीच भएको छलफलपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाङले भने, ‘चीन र नेपाल अन्तर–हिमालय कनेक्टिभीटी सञ्जालको दीर्घकालिन परिकल्पनामा सहमत भएको छ ।’

वाङले नेपाल र चीनले यसअघि नै बेल्ट र रोड परियोजनामा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसमा कनेक्टिभीटीमा सहकार्य पनि एक अंश भएको जिकिर गरे । यसमा दुई देशलाई जलमार्ग, रेलमार्ग, राजमार्ग, हवाईमार्ग, उर्जा र सञ्चारबाट दुई देशलाई जोड्ने योजना समावेश रहेको छ ।

‘विकसित कनेक्टिभीटी सञ्जालले चीन, नेपाल र भारतबीच आर्थिक कोरिडोर निर्माणका लागि आधारहरु निर्माण गर्ने हामीले विश्वास लिएका छौँ,’ वाङले भने, ‘यस्तो सहकार्यले तिनै राष्ट्रको विकास र समृद्धिमा सहयोग गर्ने आशा गरेका छौँ ।’

पत्रकार सम्मेलनमा ‘के ज्ञवालीको भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणलाई काउन्टरब्यालेन्स गर्नका लागि लक्षित त होइन ?’ भन्ने प्रश्नमा वाङले त्रिदेशीय साझेदारीको कुरा उठाएका थिए । उनले बेइजिङ र नयाँ दिल्लीले यसमा सहजीकरण गर्नुपर्ने कुरा पनि उल्लेख गरे ।

‘चीन, नेपाल र भारत स्वभाविक मित्र र साझेदार हुन् । हामी नदी र हिमालले जोडेका छिमेकी हौँ । यो तथ्यलाई विश्व या तीन देशभित्र हुने कुनै पनि बदलावले परिवर्तन गर्न सक्दैन,’ वाङले भने ।

‘नेपालले आफ्नो भौगोलिक अवस्थाको फाइदा उठाउँदै थप विकासका लागि चीन र भारतलाई जोड्नुपर्छ । चीन र भारतबीचको सहकार्यबाट स्वतः नेपाल लाभग्राही बन्नेछ । यो तार्किक चाहनालाई चीन र भारत दुवैले समर्थन गर्नुपर्छ ।’

उनले तिब्बत हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माणाधिन रहेको पनि जानकारी दिए । वाङले परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको कुरा दोहोराएको पनि जानकारी दिए ।

वाङसँगको छलफलमा प्रधानमन्त्री केपी ओलीको पछिल्लो चीन भ्रमणका दौरान व्यापार र परिवाहन सम्झौताको कार्यान्वयनको विषयमा कुराकानी भएको थियो ।

‘व्यापार र परिवाहन सम्झौताको प्रोटोकल ड्राफ्ट गर्नका लागि छलफललाई तीव्रता दिने र यसलाई चाँडै तात्विक निश्कर्षमा पुर्याउने विषयमा पनि समझदारी भएको छ,’ ज्ञवालीले भने ।

उनले चिनियाँ सहयोगमा निर्माण भइरहेका र सम्पन्न परियोजनाहरुको प्रभावकारी कार्यान्वयनको विषयमा पनि छलफल भएको जानकारी दिए ।

यता, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल र चीन जोड्ने रेलमार्गका लागि केरुङ काठमाडौँ र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार गर्ने विषयमा पनि दुई नेताहरुबीच छलफल भएको जानकारी दिएको छ ।

वाङसँगको भेटमा मन्त्री ज्ञवालीले भविष्यमा दुई देशबीच थप नाकाहरु खुला गर्नुपर्ने र रसुवागढी–केरुङ र तातोपानी नाको स्तरोन्नति तथा तातोपानी नाका चाँडो खुलाउने विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री ज्ञवालीले भोलि बेइजिङमा चाइना रिफर्म फोरमले आयोजना गर्ने राउण्ड टेबललाई सम्बोधन गर्ने तथा चीनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नाटाले आयोजना गर्ने ‘चीनमा नेपाली पर्यटनको प्रबद्र्धन २०१८’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री ज्ञवाली अाज साँझ छेङ्दुका लागि प्रस्तान गर्नेछन् जहाँ उनले प्रान्तीय नेताहरुसँग छलफल गर्ने छन् भने उनको सम्मानमा आयोजना सिचुवान विश्वविद्यालयमा आयोजना गरिने कार्यक्रममा सहभागिता जनाउने छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!