सातु, सर्वत खाएर मनाइयो अक्षय तृतीया

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइयो ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । जौ को सातुमा गुड, चिनी, घ्यू, दही र सक्खर मिसाएर सर्वत बनाई ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ ।

दान गरेपछि सपरिवार सर्वत र सातु खाएर यो पर्व मनाइन्छ । आजका दिन विवाह आदि शुभकामका लागि साइत हेर्नुनपर्ने मान्यता छ । शिव र पार्वतीको विवाह पनि वैशाख शुक्ल तृतीयाकै दिन भएको थियो । मत्स्य, भविष्यलगायत पुराण ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा पर्शुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई पर्शुराम जयन्ती भनी मनाउने चलन पनि छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!