यी हुन् एमाले–माओवादी केन्द्रको एकतामा विवादित विषय

काठमाडौं, वैशाख ५ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताका विवादित विषयमा सहमति जुट्न नसकेपछि वैशाख ९ गते हुने भनिएको दुई पार्टी एकता घोषणा टरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीबीचको एकता संयोजन समितिको बैठकले पनि विवादित विषय टुंगो लगाउन नसकेपछि त्यसमा सहमति जुटाउन दुई पार्टीका अध्यक्षलाई जिम्मा दिएको छ ।

दुई पार्टीबीच सांगठनिक संरचनामा कुन पार्टीको कति संख्या रहने, ‘जनयुद्ध’लाई कसरी सम्बोधन गर्ने र चुनाव चिह्न के राख्ने भन्नेमा विवाद देखिएको हो ।

यस्तै, एकीकृत पार्टीको नेतृत्व सन्चालन कार्यविधि पनि तय भएको छैन ।

एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै अध्यक्ष हुने सहमति त भएको छ तर दुवै अध्यक्ष कार्यकारी हुने कि एउटा ‘सेरेमोनियल’ र अर्को कार्यकारी हुने भन्ने टुंगो लागेको छैन । पछिल्लो समय यो विषय पनि जटिल बनेको छ ।

दुई पार्टीबीच सांगठनिक संरचनाको अनुपातको विषय पनि जटिल बनेको छ । कार्यदलमा एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कतिजना रहने भन्ने विवादित नै छ ।

एमाले सांगठनिक संरचना ७०–३० को अनुपातमा हुनुपर्ने अडानमा छ भने माओवादी केन्द्र समान हैसियत अर्थात् ५०–५० प्रतिशतको अडानमा छ ।

एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य राखेका दुई पार्टीमा संख्याको विषयलाई महत्व दिन नहुने बताउँछन्, पार्टी एकता संयोजन समितिका सदस्यसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेल ।

विवादित विषयलाई शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले पनि टुंग्याउन नसकेपछि वैशाख ९ गते गर्ने भनिएको दुई पार्टी एकता घोषणा पनि टरेको स्वयं समितिकै सदस्यहरु बताउँछन् ।

एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कार्यदलले पेस गरेको प्रतिवेदन टुंगो नलागेकाले ९ गते एकता घोषणाको तयारी अपुग हुने बताउँछन् ।

दुवै पार्टीका नेताहरुले सार्वजनिकरुपमा अधिकांश विषयमा सहमति भइसकेको दावी गरेपनि पार्टी एकताका लागि महत्वपूर्ण विषयमा अझै सहमति हुन सकेको छैन ।

नेताहरुले पार्टी एकताका लागि प्राविधिक विषयमात्र बाँकी रहेको दावी गरेपनि दुवै दलका नेताहरुले एकीकृत पार्टीमा आफ्नो राजनीतिक सुनिश्चितता खोजेकाले एकता प्रक्रिया पेचिलो बनेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!