दश वर्षपछि चलचित्रमा प्रियंका र सलमान एकसाथ देखिँदै

मुम्बई । बलिउड सुपरस्टार सलमान खानको आगामी चलचित्र ‘भारत’ को सुटिङ सुरु भएको छ ।

साथै, चलचित्रमा सुपरस्टार सलमान खानको जोडी रुपमा देखिने भएकी अभिनेत्रीको नाम पनि मिडियासामु सार्वजनिक गरेको छ । ती अभिनेत्री हुन्– प्रियंका चोपडा ।

झण्डै दुई वर्ष बलिउडबाट टाढा रहेकी अभिनेत्री प्रियंका चोपडा ‘भारत’ बाट बलिउडमा कमब्याक गर्दैछिन् । अमेरिकन टीभी सिरिज ‘क्वान्टिको’ का लागि न्यूयोर्कमा बरिरहेकी ३५ वर्षीया बलिउड अभिनेत्री प्रिंयका निर्देशक अली अब्बासद्वारा निर्देशित चलचित्रमा सलमान खानसँगै देखिन लागेकी हुन् ।

सलमान र प्रियंकाले ‘मुझसे शादी करोगी’, ‘सलाम–ए–इश्क’ तथा ‘गड तुस्सी ग्रेट हो’ मा सँगै काम गरेका छन् । उनीहरु झण्डै १० वर्षपछि ठूलो पर्दामा सँगै देखिन थालेका हुन् ।

बलिउड चलचित्र ‘भारत’ को प्रमुख अभिनेत्री बारेमा विभिन्न अड्कलबाजी हुँदै आए पनि अन्तिममा प्रियंकालाई साइन गराइएको छ । यसअघि कट्रिना कैफको नाम पनि चर्चामा रहेको थियो । प्रियंका सन् २०१६ मा ‘जय गंगाजल’ मा देखिइएकी थिइन् । उनी सलमान खानसँगको कामलाई लिएर निकै उत्साहित छिन् ।

प्रियंकाले सलमान र निर्देशक अलीसँग काम गर्न पाउँदा आफू निकै खुशी भएको बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!