एमाले माओबादी एकीकरण प्रक्रिया: सुकुटेबाट प्रचण्ड सीधै बालुवाटार जाने

काठमाडौं, वैशाख ३ । लामो समयको अलमलपछि एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुग्दैछन् ।

प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएका थिए ।

एक रात सुकुटेमा आराम गरेका प्रचण्ड अाज बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् । त्यसअघि ओली-प्रचण्डबीच फोन वार्ता भएको स्रोतले बतायो ।

दुई अध्यक्षबीच बिहान १० बजे भेट गर्ने तय भएको दाहालको नीजि सचिवालयले जनाएको छ ।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी छ । ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ ।

चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!