उर्जामन्त्री पुन र एनएफएडीका महासचिव मोरीबीच भेटवार्ता

काठमाडौं, चैत्र ३० । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल–जापान मैत्रिपूर्ण जलजन्य प्रकोप न्युनिकरण संघ (एनएफएडी) का महासचिव टोसीओ मोरीबीच भेटवार्ता भएको छ ।

शुक्रवार सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालको पहिरो नियन्त्रण र विपद व्यवस्थापनका विषयमा छलफल भएको बताइएको ।

महासचिव मोरीसंगको भेटमा उर्जामन्त्री पुनले जापान र नेपालको बीचमा लामो समयदेखी मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै नेपालको विकासमा जापानले निस्वार्थ गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

उहाले आगामी दिनमा समेत जापानसंगको सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गर्नुभएको थियो । भेटमा सेण्डाई फ्रेमवर्क २०१५ बारे छलफल हुनुका साथै नेपालमा प्रत्येक वर्ष बाढी र पहिरोका कारण हुने धनजनको क्षतीलाई कम गर्ने उपायका बारेमा समेत छलफल भएको थियो ।

उर्जामन्त्री पुनसंगको भेटमा महासचिव मोरीले पहिरो आउनुभन्दा पहिले जानकारी दिने प्रविधि भित्राउनुपर्नेमा जोड दिनुभएको थियो । उहाले पहिरो नियन्त्रणका लागी सहयोग गर्न आफुहरु तयार रहेको भन्दै त्यसका लागी पहिरो प्रकोप सेन्टर स्थापना गर्न मन्त्री पुनलाई सुझाव दिनुभएको थियो ।

जवाफमा मन्त्री पुनले पहिरो प्रकोप सेन्टर स्थापनाबारे आफु सकरात्मक रहेको भन्दै त्यसका लागी सम्बन्धीत निकायसंग छलफल गरेर छिट्टै सरकारले निर्णय गर्ने बताउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!