आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत ३० । इंग्लिस क्लब आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रसियन क्लब सिएसकेए मस्कोसँग २–२ गोलको बराबरीमा रोकिए पनि आर्सनल समग्रतमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

सिएसकेए मस्कोले घरेलु मैदानमा भएको खेलमा २–० को अग्रतालाई जोगाउन नसक्दा हार व्यहोरेको हो । खेलको ३९ औं मिनेटमा फेदोर चालोभले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५० औं मिनेटमा क्रिल नाबाकिनले गोल गर्दै घरेलु टिमलाई २–० को अग्रता दिलाएका थिए ।

तर आर्सनलले २० मिनेटभित्र दुई गोल गर्दै खेल बराबरीमा रोकेको हो । ७५ औं मिनेटमा डेनीयल वेलबेकले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्‍याए भने इन्जुरी समयको दोस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै आर्सनललाई हारबाट जोगाए ।

घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल ४–१ ले विजयी भएको थियो । जसका कारण आर्सनलले समग्रमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश पाएको हो ।

त्यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले पोर्चुगिज क्लब स्पोर्टिङलाई समग्रमा २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । गएराति भएको दोस्रो लेगमा १–० ले पराजित भए पनि पहिलो लेगमा निकालेको २–० गोल अन्तरको जितले एथ्लेटिकोलाई सेमिफाइनलमा पुग्न मद्दत गर्‍यो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!