मन्त्री पण्डितले लगाए विदेश भ्रमणमा रोक

काठमाडौं, चैत्र २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी खर्चमा हुने मन्त्रालयगत विदेश भ्रमणलाई रोकेका छन् ।

मन्त्री पण्डितले विभिन्न कार्यक्रमका नाममा अनावश्यक रुपमा गरिने विदेश भ्रमण कार्यविधि नबन्दासम्मका लागि रोकेको जनाइएको छ । जसअन्तर्गत मन्त्री पण्डितले हाल पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको विदेश भ्रमण रोक्का गरेका छन्।

जसअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाको नगरपालिकाका कार्यकारी अधिकृतसहित पाँच जनाको अमेरिका भ्रमण, धुलीखेल नगरपालिकाका प्रमुख अशोक बेञ्जुसहित दुई जनाको इण्डोनेसिया र मलेसियाको भ्रमण रोक्का गरेका हुन्।

मन्त्री पण्डितले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडसहित चार जनाको ताइवान भ्रमण, भरतपुर महानगरपालिकाका एक प्रतिनिधिको थाइल्याण्ड भ्रमण र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण रोक्का गरेका छन्।

समान्य प्रशासन मन्त्री पण्डितले विदेश भ्रमणका लागि मन्त्रालयले निर्माण गर्दै गरेको कार्यविधि निर्माण भएर लागु नहुदासम्म हालका लागि सम्पुर्ण विदेश भ्रमण रोक्का गरिएको बताएका छन्।

मन्त्री पण्डितले स्विजरल्याण्डको जेनेभाको आफ्नो भ्रमणसमेत स्थगित गरी मातहतका सबै निकायबाट हुने विदेश भ्रमण रोक्का गरेका हुन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!