पार्टी एकता सम्मानजनक हैसियतमा नभए सामेल हुदैनाैं : अध्यक्ष तामाङ

काठमाडौं, चैत्र २९ । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जनताले ठूलो बलिदानीका साथ निरंकुशता र खराबीतन्त्र मास्न साथ दिएकाले त्यसको उपहारस्वरूप विकास, सुशासन र समृद्धि दिनुपर्ने बताए ।

निरंकुशता उखेल्न साथ दिएका जनताले प्रगतिशील वामपन्थी शक्तिलाई बहुमतसहित सत्ताको चाँबी सुम्पिएको अध्यक्ष तामाङले जिकिर गरे ।

क्रान्तिकारी सर्लाहीको जिल्ला सम्मेलन उद्घाटनमा अध्यक्ष तामाङले केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरे जनताले माफी नदिने बताए ।

तामाङले मनोमानी शुल्क वृद्धि नरोके निजी शिक्षणसंस्था सधैंका लागि बन्द गरिने चेतावनी दिए । सात लाख शिक्षण अनुमतिपत्र (लाइसेन्स) लिएका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग अध्यक्ष तामाङले माग गरे ।

पार्टी एकता सम्मानजनक हैसियतमा नभए एकता प्रक्रिया अखिल क्रान्तिकारीले बहिष्कार गर्ने पनि तामाङले स्पष्ट पारे । तामाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ०४२ सालदेखि नेपाली राजनीतिका प्रमुख पात्र रहेको र कसैको अण्डरमा रहेर काम नगरेको पनि स्मरण गरे ।

सर्लाही अध्यक्षमा मैनाली

अखिल क्रान्तिकारीको सर्लाही जिल्ला अध्यक्षमा विवेक मैनाली निर्वाचित भएका छन् । बिहीबार सम्पन्न सम्मेलनबाट उनी निर्वाचित भएको प्रदेश २ का इन्चार्ज एवं उपमहासचिव गणेशप्रसाद मैनालीले जानकारी दिए ।

सम्मेलनको उद्घाटन क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तामाङले गरेका थिए । यसअघि नवनिर्वाचित अध्यक्ष मैनाली त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारीताको केन्द्रीय क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसको इन्चार्ज थिए ।

क्रान्तिकारी माओवादी केन्द निकटको विद्यार्थी संगठन हो । एमाले र माओवादीबीच पार्टी एकताको अन्तिम मिति नजिकिइरहेको बेला क्रान्तिकारीले देशभर सम्मेलन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!