जग्गा विवादका कारण भाउजुको दाउरा प्रहारबाट देवरको मृत्यु

बागलुङ । बागलुङको बडीगाड गाउँपालिकामा आपसी घर झगडाले एकजनाको ज्यान गएको छ ।

पुर्खौली जग्गामा कसले खेती गर्ने भन्ने विषयलाई लिएर बडीगाड गाउँपालिका–४ जलजलामा गत चैत १० गते बेलुकी ८ बजे देवर ४७ वर्षीय खेमबहादुर श्रीस र भाउजू ४० वर्षीया मनमाया श्रीसबीच झगडा पर्दा भाउजू मनमाया र निजका नाबालक १४ वर्षीय छोरा मीनबहादुर श्रीसले देवर खेमबहादुरको टाउकोमा दाउरा प्रहार गर्दा घाईते बनाइकी थिइन् । घाइते रहेका देवर खेमबहादुर श्रीषको यहि चैत २७ गते विहान घरमै मृत्यु भएको छ ।

दाउरा प्रहारबाट घाइते खेमबहादुरलाई तत्कालै बुटवल मणिग्राम स्थित क्रिम्सन अस्पतालमा लगी उपचार गराई यहि चैत २६ गते घरमा ल्याईएको थियो । उनलाई घरमा ल्याएको भोलिपल्टै उनको मृत्यु भएको पारिवारिक श्रोतले बतायो ।

पहिले घरायसी झगडा भनी घटनाको जानकारी कतै नगराईएपनि खेमबहादुरको मृत्यु पछी ग्वालिचौर स्थित खार प्रहरी चौकीलाई खबर गरिएको थियो । प्रहरीले अभियुक्त आमा छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा पठाएको खार प्रहरी चौकीका प्रसनि महदत्त शर्माले बताए ।

ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार मृतकको पोष्टमार्टम पछी दाहसंस्कारका लागि शव आफन्तलाई बुझाई अभियुक्त आमा छोरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएकोछ ।?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!