प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै : मुख्यमन्त्री पौडेल

काठमाडौं, चैत्र २९ । प्रदेश ३ को स्थायी राजधानी आफ्नो जिल्लामा कायम हुनुपर्ने भन्दै संसद् सचिवालयमा प्रस्ताव दर्ता हुने क्रम रोकिएको छैन । प्रस्ताव दर्ता हुन थालेपछि राजधानी हेटौंडालाई नै बनाउन वा अन्यत्र सार्ने भन्ने विषयमाथि सतहमै बहसको थालनी सुरु भएको छ ।

राजधानी सार्ने विषयमा विभिन्न जिल्लाका प्रदेशसभा सदस्यहरूले संसद् सचिवालयमा लिखित प्रस्ताव दर्तालाई निरन्तरता दिएपछि सतहमै बहस सुरु भएको हो । हालसम्म तीन जिल्लाका सदस्यले राजधानी आफ्नो जिल्लामा राख्नुपर्ने भन्दै लिखित प्रस्ताव दर्ता गराएका छन् ।

गत सोमबार एमाले प्रदेशसभा सदस्य शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउनुपर्ने मागसहित प्रस्ताव दर्ता गरेका छन् । उनीहरूले १० वटा आधारसहित प्रस्ताव पेस गरेका छन् ।

यसअघि, प्रदेशको राजधानी काभ्रे र नुवाकोटलाई बनाउनुपर्ने भन्दै दुई जिल्लाका प्रदेशसभा सदस्यहरूले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए । संसदमा प्रस्ताव दर्ता भएसँगै राजधानीको विषयले प्राथमिकता पाएको छ । हालसम्म राजधानी सार्नुपर्छ भनेर प्रस्ताव दर्ता गराउने सदस्य एमालेका रहेका छन् ।

हेटौंडालाई नै स्थायी राजधानी बनाउनुपर्छ भनेर अहिलेसम्म एउटा पनि प्रस्ताव दर्ता भएको छैन । एमालेको बहुमत रहेको प्रदेश ३ मा मुख्यमन्त्री डोरमणि पौडेल पनि सोही पार्टीका रहेका छन् । आफ्नै पार्टीका प्रदेशसभा सदस्यले राजधानी हेटौंडाबाट सार्नुपर्ने भन्दै प्रस्ताव दर्ता गर्न थालेपछि दबाबमा परेका पौडेलले स्थायी राजधानी पनि हेटौंडा नै हुने भन्दै आप्mनो धारणा सार्वजनिक गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!