बेलायती प्रधानमन्त्रीको चेतावनी: असदलाई नछाडिने

काठमाडौँ, २६ चैत । बेलायती प्रधानमन्त्री टेरेजा मेले यदि रासायनिक हतियारहरूले आक्रमण गरेको पुष्टि भएको खण्डमा सिरियाली राष्ट्रपति बसर अल-असद र उनका सहयोगीहरूलाई त्यसै नछाडिने बताएकी छिन् ।

सोमवार डेनमार्कको कोपेनहेगेनमा संचारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा मेले असदले आफ्नै जनता विरुद्ध क्रूरता र निर्लज्जताको सीमा पार गरेको बताएकी छिन् । अन्तर्राष्ट्रिय कानुनले युद्धमा रासायनिक हतियारहरूको प्रयोगमा प्रतिबन्ध लगाएको स्मरण गराउँदै उनले भनिन्, “रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा र उनीहरू दोषी पाइएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई कानुनी दायरामा ल्याइने छ ।”

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स तथा मानवअधिकारवादी सगठनहरूले सिरियाको पूर्वी गुटा क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएका छन् । मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ । तर त्यसको स्वतन्त्र पुष्टिको खबरहरू भने आएका छैनन् ।

राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले आफूहरूले क्लोरिन ग्यासले असर गरेका बिरामीहरूको उपचार गरिरहेको बताएका थिए ।

सिरिया सरकारले भने त्यस्तो घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ ।सिरियाली असद प्रशासनले रासायनिक हमलाको आरोपलाई ‘बनावटी समाचार’ भनेको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा भएको रासायनिक हतियार हमलालाई ‘तनावग्रस्त खबरहरू’ भन्दै तत्कालै अमेरिकी विदेश मन्त्रालयले आफूले त्यसको अनुगमन गरिरहेको जनाएको थियो ।

यस घट्नालाई लिएर संयुत राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुस र अमेरिकाबीच तीव्र आरोप-प्रत्यारोप भएको छ ।

 

एजेंसीहरू

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!