रुस्लान डिपिएल: काठमाडौँ गोल्डेन्सलाई पाखा लाउँदै टीम चौराहा धनगढी फाइनलमा

धनगढी, चैत २७ । घरेलु टोली ‘टीम चौराहा धनगढी’ ‘काठमाडौँ गोल्डेन्स’लाई एक विकेटले पराजित गर्दै यहाँ जारी रुस्लान धनगढी प्रिमियर लीग(डिपिएल)को फाइनलमा प्रवेश गरेको छ।

जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि धनगढीको जीत सुनिश्चित भएको हो । यसका साथै धनगढीले रु. २५ लाख नगद पुरस्कार रहेको उक्त प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराह धनगढीले टस जित्दै फिल्डिङ रोजेको थियो । काठमाडौँ गोल्डेन्सले ब्याटिङ गर्दै टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा उक्त विजयी लक्ष्य पूरा गऱ्यो ।

धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । शंकर रानाले ३९ बलमा दुई चौकासहित २८ रन बनाए । सोनु तामाङले एक छक्का र एक चौकासहित १० बलमा १४ तथा सुनिल धमलाले १३ रनको योगदान दिए ।

बलिङतर्फ काठमाडौँका सन्नी पटेल, रशिद खान र शाहव आलमले दुई-दुई विकेट लिए । सुवोथ भाटी र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई-दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक-एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!