गृहमन्त्री थापालाई सांसदले भने–असिनाले वालीसहित भेडाबाख्रा र कुखुरा मरे ६ महिनालाई खाद्यान्नको जोहो गरी दिनु

काठमाडौं, चैत २६ । कालिकोटका सांसद्हरुले ६ महिनासम्म पुग्ने गरी जिल्लामा खाद्य सामाग्री व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाका सांसद दुर्गबहादुर रावत र राष्ट्रिय सभाका सांसद जीबन बुढाले कालिकोटमा असीना पानी र हावाहुरीले हिउँदे बाली सखाप पारेको भन्दै खाद्य सामाग्री व्यवस्था गर्न माग गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादल, आपुर्ति मन्त्री मातृकाप्रसाद यादव सहितका मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँदै कालिकोटमा असीना पानीले हिउँदे अन्नबालीका साथै किसानका भेडा,बाख्रा र कुखुरा पालनमा ठुलो क्षति पुगेकोले खाद्यान्नको जोहो गरिदिन दुवै सांसदले माग गरेका हुन् ।

राष्ट्रिय सभाका सदस्य जीवन बुढाले भुकम्पले क्षति पुर्याएजस्तै कालिकोटमा असिनापानीले अन्नबाली सखाप पारेको बताए । उनले गोरखा भुकम्पका बेला चाउ चाउ बाँडेजस्तो नभएर ६ महिना पुग्ने खाद्यान्नको व्यवस्था गर्न माग गरे ।

गृहमन्त्री थापालाई ज्ञापनपत्र दिदै सांसद बुढाले भने, ‘कालीकोटमा असीनाबालीले सखाप पार्यो यसको तुरुन्त व्यबस्था गर्न हाम्रो सामुहिक माग हो । कालीकोटबासी आम जनता, जनप्रतिनिधिको सामुहिक आग्रह हो, बिषेश ध्यान दिनुपर्यो ।’

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापा बादलले आफूले यसका लागि पहल गर्ने बचन दिए । उनले भने, ‘आफु विपद व्यवस्थापनको उचित प्रबन्ध गर्न लागीरहेको छु । कालीकोटमा पहिले खाद्य सामाग्री पुर्याउन पहल गर्छ । अन्य कुराहरु मिलाउँदै जाउँला ।’

कालिकोटमा यही चैत २३ गतेको हावाहुरी र असीनापानीले झण्डै १ लाख ६० हजार हेक्टरमा लगाइएको अन्नबाली नष्ट भएको अनुमान छ ।

यसैबीच सांसदहरुले कालीकोटमा गएको पौष ७ गते प्रहरीको गोली लागी मृत्यु भएको म्यादी प्रहरी विवेक ऐडीका परिवारलाई राहत दिन पनि माग गरेका छन् । उनीहरुले अहिलेसम्म विवेकका परिवारलाई राहत नदिएकोमा गृहमन्त्री थापासंग गुनासो समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!