सिन्धुपाल्चोकमा बोलेरो र बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

मेलम्ची, चैत २६ । सिन्धुपाल्चोकमा गए राति बोलेरो र बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ ।

आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८च ४६९९ नम्बरको बोलेरो गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा परी ३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय बालक कमल स्याङ्बोको घटनास्थलमा नै मृत्यु भएको मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए ।

बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँबाट हेलम्बुको तिम्बुका लागि छुटेको बा२ख ६३६५ नम्बरको हेलम्बु यातायातको बस गएराति दुर्घटना भएको हो । राति १० बजेतिर तिम्बु बसपार्क नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाकारी दिएको छ ।

बसमा सवार अन्य चार जना घाइतेलाई उपचारका लागि आइतबार राति नै धुलिखेल अस्पताल लगिएको छ भने घटनाको अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!