अमेरिकी राष्ट्रपति ट्रम्प र किम वार्ताको तयारी गोप्य

काठमाडौं, चैत २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मित्रता रहेको ठानिएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धमा पछिल्लो समय तनाव देखिएको छ ।

तर यसअघि तनावपूर्ण सम्बन्ध रहँदै आएको उत्तर कोरिया र त्यहाँका नेता किम जोङ–उनसँग भने अमेरिका र ट्रम्पको सम्बन्ध सुधारको संकेतमा छ ।

रुससँग पछिल्लो समय कुटनीतिज्ञ निष्काशन तथा प्रतिबन्धको दोहोरी खेलका कारण सम्बन्ध चिसो बन्दै गएको हो ।

तर उत्तर कोरियासँग भने यो वर्ष लागेसँगै चिसो सम्बन्ध न्यानो बन्ने संकेत मिलेको छ । यसको कडीको रुपमा अमेरिका र उत्तर कोरियाका नेताबिच आउँदो मे मा हुने भनिएको भेटवार्तालाई लिइएको छ ।

उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया (जोसँग यो वर्ष लागेसँगै सम्बन्ध सुधार हुँदै गएको छ) को हातबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वार्ताका लागि निम्तो पठायो । ट्रम्पले त्यसलाई स्वीकार गरे ।

यद्यपी अहिलेसम्म मे मा हुने भनिएको ट्रम्प–किम वार्ताका बारेमा उत्तर कोरियाले सार्वजनिक रुपमा केही भनेको छैन ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण सम्बन्धमा चिसो पसेको मानिँदै आएको छ । पछिल्लो समय उत्तर कोरिया आफूलाई परमाणु निशस्त्रिकरण गर्न तयार रहेको बताउने गरेको छ । चाहे त्यो दक्षिण कोरियाका अधिकारीसँगको भेटमा होस् वा आन्तरिक सम्बोधनका क्रममा उत्तरका नेता किमले यस्तो बताउने गरेको खबर आउने गरेका छन् ।

अहिले आएर अमेरिकी अधिकारीले उत्तर कोरियाले प्रस्तावित ट्रम्प–किम वार्तामा परमाणु निशस्त्रिकरणका बारेमा छलफल गर्ने वचन दिएको बताएका छन् ।

उत्तर कोरियासँग सीधै कुरा गरेर प्रस्तावित वार्ताको तयारी गोप्य रुपमा भइरहेको ट्रम्प प्रशासनका अधिकारीले अमेरिकी सञ्चारमाध्यम सिएनएनसँग बताएका छन् ।

अमेरिकी तथा उत्तर कोरियाली कुप्तचर अधिकारीबिच वार्ताको तयारीका सम्बन्धमा धेरै पटक कुराकानी भएको उल्लेख गरिएको छ ।

दुई देशका नेताबिच अमेरिका वा उत्तर कोरियामा नभइ अरु नै कुनै देशमा भेटवार्ता हुने तयारी छ । यो वार्ता कुनै पनि अमेरिकी राष्ट्रपतिले सत्तामा रहँदै उत्तर कोरियाका नेतासँग गरेको पहिलो वार्ता हुनेछ ।

उत्तर कोरियाले आफ्नै राजधानी प्योङयाङ्गमा वार्ता गर्न प्रस्ताव गरेको तर अमेरिका त्यसका लागि तयार नरहेको सिएनएनले उल्लेख गरेको छ । अहिलेसम्म वार्ताको समय र स्थानबारे केही खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!