भारत नेपाल सम्बन्ध सधैँँका लागि सुध्रियो- प्रधानमंत्री

काठमाडौं,चैत २५ । प्रधानमंत्री केपी शर्मा ओलीले अब सधैँका लागि नेपाल र भारतबीचको सम्बन्ध सुध्रिएको बताउनु भएको छ ।

भारतको तीनदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री ओलीले यसो भन्नु भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँगको सम्बन्ध थप समधुर बनेको र अब सधैंका लागि सुध्रिएको बताउनु भयो ।

‘नेपाल भारतको सम्बन्धमा अब तस्बिर आफैं बोल्छ,’ ओलीले भने, ‘अब भारतसँगको सम्बन्ध कसैले बिगारेन भने सुध्रिँदै जान्छ । हामी भारतसँगको सम्बन्ध बिगार्ने पक्षमा छैनौं ।’

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा महत्वपूर्ण र केही नयाँ सम्झौता भएको पनि बताउनु भयो ।

सडक, रेल र जलमार्ग बिस्तार गर्ने विषयमा भारतीय पक्षसँग महत्वपूर्ण सहमति तथा समझदारी भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँग मित्रवत् सम्बन्ध विकसित भएको पनि दावी गर्नु भयो।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले मित्रवत र एक–अर्काको अस्तित्व स्वीकार गर्ने खालको सम्बन्ध विकास गर्ने हाम्रो प्रयासलाई सकरात्मक रुपमा स्वीकार गर्नुभएको छ,’ ओलीले भने, ‘म जुन अभिमत बोकेर भ्रमणमा गएको थिए, त्यसलाई भारतले स्वागत गरेको छ ।’

सीमासम्बन्धी विवाद तथा अन्य विवादका विषयमा पनि आफूले भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाएको ओलीले बताउनु भयो ।

यस्तै पञ्चेश्वर र टकनकपुरका सम्बन्धमा पनि आफूले भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ओलीले बताउनु भयो ।

पञ्चेश्वरमा र टनकपुरमा देखिएको समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री मोदीले आफू दिल्लीमा हुँदा नै मातहतका निकायलाई निर्देशन दिइसकेको ओलीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!