सलमान खान विदेश जान नपाउने

काठमाडौं । कृष्णसार प्रकरणमा बिहीबार पाँच वर्षका लागि जेल गएका बलिउड अभिनेता सलमान खान शनिबार धरौटीमा रिहा हुने भएका छन् ।

तर बिना अनुमति देशभन्दा बाहिर जान नपाउने अदालतको सर्तमा सलमान रिहा भएको बताइएको छ । त्यस्तै अदालतले उनलाई ७ मे, २०१८ मा उपस्थित हुन समेत भनेको छ ।

जोधपुर सेन्ट्रल जेलमा कैदी नम्बर १०६ बनेर दुई रात बिताएका सलमानलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले शनिबार आदेश दिएको हो ।

सन् १९९८ मा जोधपुरको एक गाउँमा कालो हरिणको सिकार गरेको आरोपमा जोधपुरको अदालतले सलमानलाई पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, सलमानका वकिलले जोधपुर ‘सेसन कोर्ट’मा जमानतका लागि याचिका दायर गरेका थिए । दायर याचिकामाथि शुक्रबार र शनिबार सुनुवाइ भएपछि रिहाईको फैसला भएको हो ।

के थियो कालो हरिण (कृष्णसार) काण्ड ?

सन् १९९८ को कुरा हो । राजस्थानको जैसलमेरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ हैँ’को सुटिङ भइरहेको थियो । सलमानलाई आरोप थियो कि १ अक्टोबर १९९८ को राति जोधपुर जिल्लाको काँकणी गाउँनजिकै सलमान खान र सोही फिल्मसँग सम्बद्ध कलाकारले त्यहाँ कालो हरिणको सिकार गरेका थिए ।

सलमानलाई अवैध हतियार राखेको र प्रयोग गरेको आरोप छ । उनलाई आम्र्स एक्टसम्बन्धी मुद्दा पनि दायर गरिएको थियो । आम्र्स एक्ट मुद्दाबाट भने गत जनवरी १८ मा उनलाई सफाइ दिइएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!