सनसनीपूर्ण खेलमा रुपेन्देही च्यालेन्जर्स ३ रनले पराजित

काठमाडौं, चैत्र २४ । धनगढीमा जारी डीपीएल प्रतियोगितामा रुपेन्देही च्यालेन्जर्सलार्इ ३ रनले पराजित गर्दै टीम चौराह धनगढी रुस्लान धनगढी प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ।

८ ओभरमा छोट्याइएको खेलमा धनगढीले दिएको ७७ रनको लक्ष्य पछ्याएको रुपेन्देही ५ विकेट गुमाउँदै ७३ रनमा रोकियो।

रुपेन्देहीका लागि सागर पुनले १६ बलमा ३ चौका र ३ छक्काको मदतमा ३३ रनको विस्फोटक पारी खेलेपनि टोलीलार्इ जिताउन सकेनन्। साथै उसका दीपक प्रसादले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ७ विकेट गुमाएर ७६ रन बनाएको थियो। धनगढीका सोनु तामाङले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३४ रनको पारी खेले। सो क्रममा उनले ४ छक्का र १ चौका प्रहार गरे। यस्तै, रोहन मुस्तफाले १५, राजेश पुलामीमगरले ९, सुनिल धमलाले ६ रन जोडे। बलिङ तर्फ सुशान भारीले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए।

योसँगै डीपीएलको प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। काठमाडौं गोल्डन्सले शुक्रबार नै प्लेअफमा स्थान बनाएपनि आज महेन्द्रनगर युनाइटेड र धनगढीले प्लेअफमा स्थान बनाएका हुन्। प्लेअफमा पुग्ने अन्तिम टोलीको भने आइतबार टुंगो लाग्नेछ।

आइतबार हुने सिवाइसी अत्तरिया र विराटनगर किंग्सबीचको विजेता प्लेअफमा पुग्ने अन्तिम टोली हुनेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। खेलका म्यान अफ द म्याच सोनु तामाङ भए। उनले नगद १० हजार हात पारे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!