नेपाल ल्याण्डलक्ड नभइ ‘ल्याण्डलिंक्ड’ देश हो : प्रधानमन्त्री ओली

काठमाडौं, चैत्र २४ । तीन दिन राजकीय भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गरेका छन् ।

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने नेपाल भूपरिवेष्ठित नभइ ‘ल्याण्डलिक्ड’ देश भएको बताए ।

प्रधानमन्त्री ओलीले यसे वर्ष सम्पन्न भएका तीनै तहका निर्वाचनपछि देश आर्थिक समद्धिको दिशार्फ अघि बढेको बताएका छन् ।

संयुक्त पत्रकार सम्मेलन अघि दुई देशमा प्रतिनिधिमण्डलबीच बैठक भएको थियो । कुनैपनि नयाँ विषयमा भने आज सहमति नभएको बताइएको छ । पुराना सहमति र समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा नै छलफल केन्द्रित रहेको बताइएको छ ।

आफू नेतृत्वको सरकारको साझा उद्देश्य नै समृद्धि भएको बताउँदै ओलीले नेपाल लगानीको लागि उपयुक्त वातारण भएको पनि बताए ।

भारतीय निजी तथा पब्लिक कम्पनीलाई नेपालका जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्दै ओलीले कतिपय आयोजना भारतीय लगानीमा बन्दै गरेको पनि सो क्रममा बताए ।

यस्तै सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको बताउँदै ओलीले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै उनले आफूलाई भारतमा भएको न्यानो स्वागतको लागि मोदीलाई धन्यवाद समेत दिए ।

आफूहरुबिच दुई देशसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल र सहिमति भएको ओलीको भनाई छ । यस्तै भारतको सहयोगमा नेपालमा भइरहेका भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी कामलाई थप बिस्तार गर्ने बारे पनि सहमति बनेको उनले जानकारी दिए ।

यसैगरी कृषि क्षेत्रको विस्तारका लागि पनि मिलेर काम गर्ने कुरा भएको बताए । ओलीले अन्त्यमा भारतीय प्रधानमन्त्री मोदीलाई जतिसक्दो चाँडो उपयुक्त समयमा नेपाल भ्रमण गर्नका लागि निम्तो पनि दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!