बंगलादेशलार्इ बिजुली बेच्ने जनार्दन शर्माकाे प्रस्ताव

२३ चैत काठमाडौं । पूर्व उर्जामन्त्री जनार्दन शर्मा बुढीगण्डकी जलविद्युत आयोजना विदेशी लगानीमा नै निर्माण गर्नुपर्ने बताएका छन् । यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने भनेर यस अघिको सरकारले गरेको निर्णय गलत भएको उनको दावी छ ।

‘देश यस्तै नेता भएका कारण बिग्रेको हो, बुढीगण्डकी आयोजनामा लगानी अनुसारको रिटर्न आउँदैन, त्यस्तो आयोजनामा जनताको लगानी किन समावेश गर्ने ?,’ शर्माले प्रश्न गरे ।

राजधानीमा शुक्रबार  नेकपा माओवादी केन्द्रको जलस्रोत तथा उर्जा विभागले आयोजना गरेको ‘जलविद्युतको उत्पादन, प्रसारण र बितरणमा नेपालको लगानी क्षमता’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै शर्माले बुढीगण्डकी आयोजनामा जनताको लगानी समावेश गर्नु घातक हुने चेतावनी दिए ।

यो आयोजनाको रिटर्न अन्य आयोजनाको भन्दा न्युन हुने भएका कारण सेयरको रुपमा जनताको लगानी गर्न उचित नहुने उनको तर्क छ ।

देशमा लोडसेडिङ हटाएर वाहवाही कमाएका शर्मा सरकार छाड्ने बेलामा बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनी गेजुवालाई दिएका कारण विवादमा परेका थिए ।

बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवासँग दिने गरी प्रचण्ड सरकारले गरेको निर्णय देउवा सरकारले उल्ट्याएको थियो ।

शर्माले देशमा जलविद्युत आयोजनाको निर्माण पैसा अभावको कारण नअड्किने बताउँछन् । विभिन्न विदेशी एक्जिम बैंक तथा दातृ निकायहरु नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक भएकाले लगानी सहजै जुटाउन सक्ने उनको दावी छ ।

‘कणर्ाली-चिसापानी अघि बढाउँ, त्यसका लागि आवश्यक इक्वीटी ६ अर्ब बराबरको रकम जुटाउने मेरो काम भयो,’ उनले भने ।

साथै उनले कर्मचारीतन्त्रका कारण देशमा आयोजना समयमै निर्माण हुन नसकेको दावी गर्छन् । विद्युत् बिक्री गर्न भारतले अड्को थाप्दैमा नेपाललाईसमस्या नहुने उनको तर्क छ ।

‘नेपालमा उत्पादन भएको बिजुली बंगलादेश र चीनमा निर्यात गर्ने सक्ने प्रशस्त सम्भावना छ,’शर्माले भने ‘बंगलादेशमा १५ हजार मेगावाट बिजुली आवश्यक छ, हङकङले ६ हजार किमी पारीबाट बिजुली ल्याएको जहाँ हामी बेच्न सक्छौं ।’

विद्युत् प्राधिकरण अन्र्तगत विभिन्न कम्पनीहरु खडा गरेपनि ती कम्पनीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । यस्ता कम्पनी खडा गर्नमा शर्माको नै जोड थियो । उनले अहिले त्यस्ता कम्पनीले सहि रुपमा काम गर्न नसकेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!