‘जनयुद्ध’ शब्द नलेखिए एकता गर्न गाह्रोः मणि थापा

२३ चैत, बुटवल । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले एकीकृत पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख नभए एमालेसँग एकता गर्न धेरै गाह्रो पर्ने बताएका छन् ।

दुई पार्टीको एकता गर्ने मिति समेत घोषणा भइसकेको बेला माओवादी केन्द्रीय हेडक्वाटर सदस्य थापाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

माओवादी प्रदेश पाँचका इन्चार्जसमेत रहेका थापाले रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाटमा पार्टी एकताका लागि जनयुद्ध शब्द अनिवार्य उल्लेख हुनुपर्ने बताए । उनले भने, ‘एकता चाहेको भए एमालेले जनयुद्ध शब्दलाई स्वीकारेर अघि बढ्नुपर्छ ।’

प्रेस सेन्टर नेपाल प्रदेश ५ ले आयोजना गरेको कार्यक्रममा थापाले एमालेले जनयुद्ध शव्द स्वीकार्दैन भनेर आफूहरुले कल्पना पनि नगरेको उनले बताए । उनले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिए ।

‘पार्टी एकता बिचारको हो, शक्ति सन्तुलनको मात्रै होइन,’ थापाले भने, ‘बिचारको एकता हामीले चाहेको हो, एकता ठूलो-सानो संख्याको होइन, बिचार र सम्मानको आधारमा हुनुपर्छ ।’

समाजवाद पुग्ने साझा लक्ष्य भएकाले सम्मानपूर्वक अघि बढ्नुको विकल्प नभएको उनले बताए । थापाले भने, ‘हामी क्याडर बेसका हौं, एमाले मासबेस पार्टी हो तर, सम्मान गरेर जाँदा मात्रै समाजवादको ढोका खुल्छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!