यौन र सम्पत्ति : तोडिदैं सम्बन्ध

काठमाडौं, चैत २३ । नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे । मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जिउने सँगै मर्ने बाचा कसम खाए । आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले ।

सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए । शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले । अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन् ।

दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफूबीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त सुनाइन् । विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्‍यो ।

अर्जुन र शान्तिजस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए । कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ । खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए ।

अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम (नाम परिवर्तन) डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन् । उनले प्रहरीमा बुझाएको पैसाको पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ । तर, अहिले उनीसँग एक पैसा पनि छैन । पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन् । परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन् ।

एसएसपी पोखरेलका अनुसार श्यामका जस्तै समस्या लिएर दिनहुँ युवा प्रहरीमा धाउँछन् । उनले भने, ‘विदेश जाँदा एउटा सपना र खुसी हुन्छ, फर्किएपछि पीडा मात्रै देखिन्छ युवामा । यो समस्या अहिले जटिल बन्दै गएको छ ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!