दबंग सलमान खान दोषी; हुन सक्छ छ वर्षसम्म सजाय

बलिउडका चर्चित कलाकार सलमान खानलाई भारतको वन्यजन्तु कानुन अन्तर्गत कालो हरिणको शिकार गरेको आरोपमा दोषी ठहर गरिएको छ ।

भारतको राजस्थान राज्यको जोधपुर जिल्लाको अदालतमा उनी विरुद्ध २० वर्ष अघि मुद्दा दायर भएको थियो ।

सन् १९९९८ मा सुरज राजश्री प्रोडक्सनको सिनेमा ‘हम साथ साथ हैं’ को सुटिङका दौरान दुर्लभ प्रजातिको कालो हरिणको शिकार गरेको आरोप खानमाथि लागेको छ ।

उक्त समय उनी लगायत अन्य पाँच जना विरुद्ध मुद्दा हालिएको भए पनि अदालतले खानलाई मात्रै दोषी देखाएको हो ।

यस मुद्दामा सलमान खानसँगै अभिनेता सैफ अली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बु र निलम समेत मुछिएका थिए ।  तर खान बाहेक अरु सबैलाई अदालतले बरी गरिदिएको छ ।

भारतीय वन्य जन्तु कानुन अन्तर्गत यस्तो मुद्दामा दोषी प्रमाणित भए छ वर्षसम्मको कारावासको सजाय भोग्नु पर्ने भनी पनि सलमान खानका वकिलहरूले उनका लागि तीन वर्षभन्दा कम सजाय हुनुपर्ने माग गरेका छन् ।

उता सलमान खान र बाकी सिनेहस्तीहरूले यी आरोपहरू निराधार रहेको बताएका छन् । फैसलापछि सलमानका अकिल हस्तिमल सारस्वतले सलमानलाई झुठो मुद्दामा फसाएको भनेका छन् ।

अभियोजन पक्षले अदालतमा २८ साक्षीहरू प्रस्तुत गरेको थियो ।

यस अघि शिकार सम्बन्धी अन्य दुई मुद्दामा सलमान अदलतबाट दोषमुक्त साबित भइसकेका छन् । जबकि लामो सुनुवाईपछि फैसला गरिएको यो मुद्दामा उनले सजाय खेप्नुपर्ने देखिएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!