प्रदेश नं ७ को समृद्धिका लागि भारतसँग कुरा उठाउन प्रधानमन्त्रीसँग माग

काठमाडौं, चैत्र २२  प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा प्रदेश नं. ७ को आर्थिक इकस तथा समुन्नतिका लागि महाकाली नदीमा पुल, सुक्खा बन्दरगाह लगायतका विषयमा कुरा उठाउन उक्त प्रदेशका जनप्रतिनिधि एवं सरोकारवालाहरूले माग गरेका छन् ।

माओवादी केन्द्रका प्रदेश नं. ७ का इन्चार्ज तथा कैलालीका संसद लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर भारतसँग जोडिएका सीमा समस्या, महाकाली नदीका १० वटा तुइनको बिस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

नेपालले आफ्नो जिम्मेवारी पूरा गरे पनि भारतीय पक्षले आफ्नो जम्मेवारी पूरा नगर्दा आएका समस्याबारे पनि टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । उनीहरुले प्रदेश ७ सँग जोडिएका भारतका उत्तराखण्ड र उत्तरप्रदेश राज्यका सीमाको स्तरोन्नतिका र समन्वयका लागि पहल गर्न पनि अनुरोध गरेका छन् ।

प्रतिनिधि मण्डलले सन्धि सम्झौतामा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न दुई देश कटिवद्ध हुनुपर्नेमा जोड दिएको छ । यस्ता छन् प्रदेश ७ ले पेश गरेका माग :

१) पञ्चेश्वर परियोजनाको कार्यलाई यथाशीघ्र अगाडि बढाउन पहल गर्नुपर्ने ।

२) कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणधीन सुख्खा बन्दरगाहका लागि भारतीय पक्षले गर्नुपर्ने कामहरु अगाडि बढाउन पहल गर्नुपर्ने ।

३) महाकाली नदीमा निर्माणाधीन पक्की पुलसम्म भारतीय राजमार्गबाट दीर्घकालीन रुपमा पहुँच मार्ग स्थापनाका लागि पहल गर्नुपर्ने ।

४) बन्द हुने भनेर प्रचार गरिएको धनगढीस्थित त्रिनगर–गौरीफन्टा भन्सार नाकालाई स्तरोन्नति गर्दै २४ घण्टा सञ्चालन गर्न पहल गर्नुपर्ने ।

५) बैतडीको झुलाघाटलाई भारतसँग जोड्ने गरी पक्की पुल निर्माणका लागि पहल गर्नुपर्ने ।

६) सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल गर्नुपर्ने ।

७) दार्चुला र धार्चुलालाई जोड्ने पक्की पुल निर्माण कार्य प्रारम्भका लागि पहल गर्नुपर्ने ।

८) दार्चुलाको जौलजीबीमा स्थायी प्रकृतिको झोलुङ्गे पुल निर्माण गर्नुपर्ने ।

९) डडेल्धुराको साँदनीस्थित सीमा नदी महाकालीमा झोलुङ्गे पुल बनाउनुपर्ने ।

१०) पञ्चेश्वर परियोजना अन्तर्गत आवश्यक पर्ने झोलुङ्गे पुल निर्माण गर्नुपर्ने ।

११) महाकाली नदीमाथि रहेको बनवासा पुललाई चौबीसै घण्टा सञ्चालनका लागि पहल गर्नुपर्ने ।

१२) एकीकृत महाकाली विकास सन्धिअनुसार भाँसी–ब्रह्मदेव १३ किमी सडकलाई भारतसँग जोड्नका लागि आवश्यक सडक निर्माण गर्नुपर्ने ।

१३) शारदा नहरबाट सन्धिअनुरुप दोधारा चाँदनीलाई प्रदान गर्ने भनिएको ३ सय क्यूसेक पानी नेपालसम्म ल्याउनका लागि आवश्यक ७ सय मिटर नदी निर्माण गर्नुपर्ने ।

प्रधानमन्त्रीसँगको भेटमा सांसदहरु लेखराज भट्ट, डा. दीपक प्रकाश भट्ट, नर बहादुर धामी, दामोदर भण्डारी, नारदमुनि राना, ७ नम्वर प्रदेशका मूख्यमन्त्रीका सल्लाहकार नरेन्द्र कुँवर, तारामान स्वार, गोकर्ण भट्ट लगायत थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!