मधेसी गठबन्धनले बाटो बिराउँदै छ : राजपा सहमहामन्त्री झा

काठमाडौं । मधेसी जनताको भावनाअनुरूप संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ढिलै भए पनि ‘मधेसी गठबन्धन’ निर्माण गरी निर्वाचनमा सभागी भए । यी दुई पार्टीबीचको सम्बन्ध विगतमा निकै उतारचढावपूर्ण भए पनि विगतको एक दशकमा मधेसमा भएका तीन ठूला मधेस विद्रोहको नेतृत्व गरेको र संघीयता तथा समानुपातिक समावेशिताका राजनीतिक मुद्दा स्थापित गरेको इतिहास उनीहरूसँग छ ।

मधेसी जनतामा भएको जागरुकता एवं सामूहिकताकै कारण यी दुई राजनीतिक दलहरूबाट विगतमा पटक–पटक सरकारमै जानका लागि गरिएको पार्टी टुटफुट, जातिवादी सोच, चरम भ्रष्टाचार, चारित्रिक अपचलन, आन्तरिक निषेधको राजनीति, स्थानीय निर्वाचनमा एक भएर नलडेको जस्ता त्रुटि भए पनि ‘मधेसी गठबन्धन’ निर्माण गरी संघीय र प्रादेशिक निर्वाचनमा मधेस झर्दा समग्र मधेस एक भएको सन्देश मधेसी जनतासम्म पुग्यो ।

निर्वाचनमा ‘मधेसी गठबन्धन’का नेतालाई दिल खोलेर, जातभात, धर्म संस्कृतिभन्दा माथि उठेर मधेसी जनताले जिताए । परिणामतः प्रदेश नं। २ मा फोरम र राजपाले सरकार निर्माण गर्ने जनादेश पाए । निर्वाचनताका मधेसी गठबन्धनका नेताको हैसियतमा महन्थ ठाकुर र उपेन्द्र यादवले प्रदेश २ मा मधेसले गरेको बलिदानको सम्मान गर्दै सहिदको सपना पूरा गर्ने गरी आफ्नो भेष, भाषा, संस्कृति झल्कने गरी सामाजिक न्याय एवं समतामूलक समाज निर्माण गर्न एवं विकासको ढोका खोल्न हामी सरकार निर्माण गरी समृद्धि ल्याउनेछौँ भनेर भाषण गरेका थिए । यसका साथै उनीहरूले संघीय संसद्मा ‘संविधान संशोधन’ गराउन संघर्षरत रहने पनि उद्घोष गरेका थिए ।

निर्वाचन परिणाम पनि ठीक त्यसैअनुरूप आयो । प्रदेश नं। २ मा मधेसी गठबन्धनको सरकार निर्माण भएको छ भने संघीय संसद्मा ३३ सिटसहित सम्मानजनक उपस्थितिमा मधेसी गठबन्धन रहेको देखिन्छ । यथार्थमा अहिलेको संघीय गठबन्धनमा प्रमुख प्रतिपक्षको भूमिका मधेसी गठबन्धनले पाउनुपर्छ ।

किनभने, संविधान निर्माताको सवालमा तीन ठूला दल एकै ठाउँमा देखिन्छन् भने संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउने सवालमा होस् या संघीयताको पूर्ण एवं सफल कार्यान्वयनको सवाल होस् या देशका सम्पूर्ण निकायहरू ९सुरक्षा र सेनासहित०मा पूर्ण समानुपातिक समावेशिता लागू गर्ने सवाल होस्, यी तमाम मुद्दा संस्थागत गर्ने÷गराउने जिम्मेवारी मधेसी गठबन्धनले लिनुपर्छ ।

अर्कातिर माओवादी केन्द्र वाम गठबन्धनको नाममा एकल जातीय तथा नश्लीय राष्ट्रियताको पक्षधर एमालेसँग मिल्नु भनेको मुद्दा विसर्जनवादको बाटोमा लाग्नु हो । यस्तो वेलामा संघीय गणतन्त्र एवं धर्मनिरपेक्षताको पहरेदारका रूपमा समेत ऐतिहासिक जिम्मेवारी मधेसी गठबन्धनको काँधमा आइपरेको देखिन्छ ।

र, यो ऐतिहासिक अभिभारा गौरवपूर्ण पनि भएको हुनाले संघीय संसद्मा प्रमुख प्रतिपक्षको सशक्त एवं गौरवपूर्ण इतिहास रच्न मधेसी गठबन्धन अग्रसर भएको देख्न चाहन्छन् नेपाली जनता । नेपालको राष्ट्रियता पुनर्परिभाषित गरी राष्ट्रिय एकता सुदृढ गर्ने काममा सम्पूर्ण नेपालीको नेतृत्व लिने कार्यमा मधेसी गठबन्धनले अग्रसरता देखाउनुपर्छ ।

दुर्भाग्य नै भन्नुपर्ला, निर्वाचनपश्चात् संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको सम्बन्ध परस्पर विरोधी हुँदै गएको देखिन्छ । एक–अर्काको पूरक हुनुपर्ने शक्ति, कहाँ हो कहाँ कट्टर विरोधी शक्तिका रूपमा देखिँदै छन् । केन्द्रको नीतिअनुरूप नै ‘फुटाउ र राज गर’ भन्ने उद्देश्यअनुरूप यी दुई पार्टीका नेतृत्व अलग–थलग देखिन्छन् ।

उपेन्द्र यादव सगोत्री भएकै कारण हो वा प्रमुख कार्यकारी राष्ट्रपति बनाउने एजेन्डा मिलेको कारण हो, २५ मंसिरपश्चात् उनको वाम गठबन्धनसँगको हिमचिम बढ्नु तथा राष्ट्रिय जनता पार्टी नेपालसँग सरसल्लाहसमेत नगरी सत्तारोहणको वातावरण बनाउन भरमग्दुर कसरत गर्नुले उनीप्रति राजपा नेतृत्व सशंकित हुनु स्वाभाविक हो । यतिसम्म कि यादवले रिपोर्टर्स क्लबमा मधेसी गठबन्धन भन्ने हुँदै होइन तथा राजपालाई चनाचटपटे पार्टी भनेर टिप्पणी गर्नसमेत भ्याए ।

यो उनको सत्ता उन्मादी विचार हो । सँगसँगै मधेसी जनमतको अपमान पनि हो यो अभिव्यक्ति । सम्पूर्ण मधेसी जनतालाई घामझैँ छर्लंग छ कि स्थानीय तहको निर्वाचनमा आफ्नै निर्णयविरुद्ध यादव निर्वाचनमा हठात् सहभागी भए । सायद उनले त्यस्तो नगरेको भए आज संविधान संशोधन भइसक्थ्यो होला । राजपाको सदाशयताका कारण मात्र निर्वाचनमा तालमेल सम्भव भयो । संघीय संसद्मा यादवलाई १७ सिट र प्रदेशमा ३३ सिट दिई यो सम्भव भएको हो ।

यादवले रोजेको सप्तरी—२ पनि दिइयो । रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिमा जातीय कारणले भोट नदिनेलाई यादवबाहेक अन्य जातले उनलाई किन भोट दिने भन्ने नारा उनको जितमा बाधक बनिरहेको समयमा मधेसी गठबन्धनको चुनावी सभाले जनतालाई बाध्य तुल्यायो र उपेन्द्रलाई जातविशेषको होइन, समग्र मधेसको नेता बनायो ।

राजपा अहिले ‘पर्ख र हेर’ को सिद्धान्तमा उभिएको छ । राजपाको अध्यक्षमण्डलमा समेत सरकारमा जसरी भए पनि सामेल हुनुपर्छ भन्ने मत नभएको होइन, तर राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको अबको राजनीतिक जीवन मुद्दाप्रतिको निष्ठा एवं संघर्षकै कारण स्थापित हुने भएको हुनाले उनी ‘टसमस’ भएका छैनन् । उनलाई गलाउन विभिन्न जालझेल पार्टीभित्रैबाट भइरहेको देखिन्छ ।

स्वयं राजपाले पनि निर्वाचनपश्चात् गति लिन सकेको छैन । समानुपातिकमा महन्थ ठाकुरबाहेक सबै अध्यक्षको नाम आर्थिक लेनदेन तथा श्रीमती एवं परिवारसँग जोडिन पुग्यो । अहिलेसम्म कुनै समीक्षा बैठकसमेत बस्न सकेको छैन ।

अन्त्यमा, राजपा र संघीय समाजवादी फोरमबीच घनिभूत छलफल हुन अत्यावश्यक देखिन्छ र नेतृत्वले एक–अर्कालाई विश्वासमा लिई मधेसी गठबन्धनलाई अझ बलियो बनाउनुपर्छ । प्रदेश २ आधार क्षेत्र भएको हुनाले राज्य सञ्चालन उच्चस्तरीय संयन्त्र र विज्ञहरूको टोली बनाई प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ ।

संघीय संसद्मा साझा कार्यदिशा तय गरी एक–अर्काको परिपूरक शक्ति बनी देश र मधेसको नागरिक समानताको संघर्षको नेतृत्व लिनुपर्छ । लोकतन्त्रमा सरकार आउने–जाने निरन्तर चल्ने प्रक्रिया भएको हुनाले गुण र दोषका आधारमा संघीय सरकारलाई समर्थन र विरोध गर्दै संविधान संशोधनको कार्यभार पूरा गर्नतिर अग्रसर हुनुपर्छ ।

हतारमा कूटनीतिक सम्बन्धमा असन्तुलन आउने गरी कुनै कदम चाल्नुहुँदैन । दुवै पार्टीलाई मधेसी जनताले अन्तिम मौका दिएका छन् । तसर्थ, जनभावनाअनुरूप अगाडि बढ्नु नै उत्तम विकल्प हुनेछ ।

(झा राजपा नेपालका सहमहामन्त्री हुन्)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!