सभामुख महरा र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौं । सम्माननीय सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ ।

बुधबार सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनुभयो ।

भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकोमा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।

सभामुख महराले लामो विद्रोहलाई शान्ति प्रक्रियामार्फत् टुङ्गोमा पुर्याइ देशको समृद्धिमा लागिरहेको बताउनुभयो ।

शान्ति प्रक्रियाका धेरै काम टुङ्गिएका छन्, नयाँ संविधानको निर्माण भएको छ, सभामुख महराले भन्नुभयो- ‘सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौं ।’

शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गर्नुभयो ।

सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझैं सुमधुर बनाउन एकअर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले शान्ति प्रक्रिया लगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

भेटमा उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!