दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताउनुभएको छ ।

बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताउनुभएको हो । बैठकमा प्रचण्डले भने- ‘पार्टी एकता प्रक्रिया सहजढंगले अघि बढिरहेको छ। हिजोमात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतऐक्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं ।’

‘भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर, त्यसले एकता रोक्न सक्दैन’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तपाई सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।’

अध्यक्ष प्रचण्डले केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनु भयो । संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!