दुर्गम गाउँ पुगेर मन्त्री बिना मगरले भनिन्– ‘गाउँमै सुविधा पुर्याउन काम गर्छु’

कञ्चनपुर । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कञ्चनपुरको दुर्गम लालझाडी गाउँपालिकामा पुगेर खानेपानी मन्त्री बिना मगरले गाउँमै सुविधा पुग्ने गरी काम गर्ने बताउनुभएको छ ।

गाउँपालिकाले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले लालझाडीका समस्याबारे आफू जानकार रहेको बताउनुभयो । ‘बाटोघाटो, नदी कटान, हात्ती आतंक लगायतका समस्या यो गाउँपालिकामा छन्,’ उहाँले भन्नुभयो– ‘समस्या समाधान हुने गरी पहल गर्छु ।’ ठुला समस्या समाधानका लागि गुरुयोजना नै बनाएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री बनेपछि पहिलो पटक गाउँपालिकामा पुग्नुभएकी मन्त्री मगरलाई गाउँपालिका अध्यक्ष मदनसेन बडायक लगायतका जनप्रतिनिधि र कर्मचारीले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बडायकले कञ्चनपुरको महिला नेता मन्त्री बन्नु एेतिहासिक सफलता भएको बताउनुभयो । संघीय सरकारमा रहेर काम गर्नुहुने आशा उहाँले व्यक्त गर्नुभयो ।

गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरसिंह बुढाले मन्त्री मगरसामु माग पत्र वाचन गर्नुभएको थियो ।

आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन भइरहेको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच शिविर र मतदाता भेटघाटका क्रममा मन्त्री मगर लालझाडी पुग्नुभएको हो। मन्त्री बिना मगरको पहलमा क्रान्तिकारी महिला सञ्जालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिरहेको छ । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाडी गाउँपालिकामा शिविर सञ्चालन भइसकेको छ ।

लालझाडी गाउँपालिकामा शिविर सम्पन्न भएपछि समस्या देखिएका महिलालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल र क्यान्सर अस्पतालमा रेफर गरिएको शिविर संयोजक सरु अधिकारीले बताउनुभयो । शिविरमा सयौं महिलाले स्वास्थ्य जाँच गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!