अाजदेखि राजपाको बैठक : को होला संसदीय दलको नेता ?

काठमाडौँ । संसदीय दलको नेता चयनदेखि राज्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्नका लागि राष्ट्रिय जनता पार्टी नेपालले बैठक बोलाएको छ ।

बैठक नबसेको कारण पार्टीको काम कारवाही प्रभावित हुने देखिएर अन्ततः बैठक बस्न लागेको हो ।

अध्यक्ष मण्डलका एकजना सदस्यका अनुसार बुधवार अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ भने २२ गते संसदीय दल र २७ गते राजनीतिक समितिको बैठक बस्नेछ ।

अध्यक्ष मण्डलको बैठकले संसदीय दल तथा राजनीतिक समितिको बैठकमा छलफल हुने एजेण्डा तय हुनेछ ।

संसदीय दलले संसदीय दलको नेता चयन गर्ने बताइएको छ । संसदीय दलको नेताका आकाँक्षी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी रहेका छन् ।

आकाँक्षी धेरै भएपनि महन्थ ठाकुरमा सर्वसम्मति हुने सम्भावना रहेको एक नेताले बताए । महन्थ ठाकुरलाई नै संसदीय दलको नेता बनाउनु पर्नेमा महेन्द्र राय यादव र शरतसिंह भण्डारी पनि सकारात्मक देखिएका छन् ।

पार्टी अध्यक्षीय प्रणालीबाट चल्ने भएकाले पार्टीका संयोजक रहेका महन्थ ठाकुरका लागि सर्वसम्मति हुने सो पार्टीका सहमहामन्त्री डा.सुरेन्द्र झाले पनि बताए । महाधिवेशनसम्म ठाकुरलाई संसदीय दलको नेता दिने सम्भावना रहेको उनले बताए ।

तर, राजेन्द्र महतो हालसम्म आफ्नो अडानबाट पछाडी हटेका छैन । उनले चुनाव गराएर भएपनि संसदीय दलको नेता बन्ने दाउमा छन् । उनले राजपाभित्र आफ्नो पक्षका सांसद बढी रहेको दावी गरेका छन् । चुनाव भयो भने आफू जित्ने उनको बुझाई छ ।

शरतसिंह भण्डारीले भने, ‘संसदीय दलको नेता को बन्ने कुरा टुगों लागेको छैन । पार्टीमा रहेका १७ जना सांसद रहेका छन् त्यसमध्ये जो कोही पनि संसदीय दलको नेता बन्न सक्नुहुन्छ । तर को बन्नुहुन्छ त्यसको निर्णय बैठकले गर्नेछ ।’

पार्टीमा हालसम्म संसदीय समिति बनेको छैन । संसदीय समिति बनाउनुअघि संसदीय दलका लागि विधान चाहिन्छ । त्यो पनि राजपा नेपालले तयार गरेको छैन । अध्यक्ष मण्डलका एकजना सदस्यले भने, ‘न संसदीय समिति छ नत्यसको विधान छ अनि संसदीय दलको नेता कसरी चुन्ने । त्यतिकै चुन्यो भने त्यो बैधानिक हुँदैन ।’

यसअघि प्रदेश २ मा प्रदेश संसदीय दलको नेताको चयन प्रेस विज्ञप्तिमार्फत भएको थियो । पार्टीमा त्यसको विरोध पनि भएको थियो ।

संघीय संसदीय दलको नेता चयन गर्न पनि अझै पार्टीले प्रकृया पुर्याएको छैन । संसदीय दलको बैठक बसेर नेता चयन गर्ने नेताहरुले बताउँदै आएका छन् ।

संसदीय दलको बैठकपछि चैत २७ गते बस्ने राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । पार्टी गठन भएपछि एकवर्ष भित्र महाधिवेशन गराउने निर्णय राजपा नेपालले गरेको छ ।

सो निर्णय अनुसार राजनीतिक समितिको बैठकमा महाधिवेशनको मितिको बारेमा छलफल हुने बताइएको छ ।

त्यसैगरि, वैशाख ७ गते हुने पार्टीका वार्षिक उत्सवको विषयमा पनि छलफल हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!