राष्ट्रिय चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश संसदबाट स्वीकृत

काठमाडौं, चैत २० । प्रतिनिधिसभाको मंगलबारको बसेको अन्तिम बैठकले बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गरियोस्’ भनी पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

चिकित्सा शिक्षा अध्यादेशले शिक्षा र स्वास्थ्य क्षेत्रमा भेदभावपूर्ण व्यवहार गर्ने भएकाले पेस नगर्न भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्यादेश एकाएक आएको नभई लामो शृखंलापछि आएको जनाउँदै चिकित्सा शिक्षालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्ने वहसपछि ल्याइएको बताउनुभयो ।

दुवै अध्यादेश तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!