संघीय संसदको पहिलो अधिवेशन अन्त्य, के के भयो त संसदमा ?

काठमाडौं, चैत्र २० । गएको फागुन २१ गतेदेखि ,शुरु भएको संघीय संसदका पहिलो अधिवशेन मंगलबार अन्त्य भएको छ । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख कृष्णबहादुर महराले पढेर सुनाउदै संसदको पहिलो अधिवेशन अन्त्य भयो जानकारी गराएका थिए ।

३० दिनसम्म चलेको संसदमा जम्म ९ दिनमा ११ वटा बैठक बसेका थिए । राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्रीले विश्वासको मत लिने, सभामुख, उपसभामुखको निर्वाचन, प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४” प्रधानमन्त्रीको सम्बोधनदेखि बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा शिक्षा अध्यादेश, २०७४ पारित लगायतका महत्वपूर्ण कार्य गर्दै आजबाट समाप्त भएको हो ।

यी हुन संसदको पहिलो अधिवेशनमा भएका प्रमुख गतिविधिः

१.संघीय संसदको पहिलो अधिवेशन संगै प्रतिनिधि सभाको पहिलो बैठक २०७४ साल फागुन २१ गते सोमबार प्रारम्भ भई आज २०७४ साल चैत २० गते मंगलबारसम्म जम्मा ३० दिन चालु रह्यो । जसमध्ये ९ दिनमा ११ पटक बैठक बसी जम्मा १५ घण्टा ३० मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो । साथै २०७४ साल चैत १५ गते संघीय संसदको संयुक्त सदनको एउटा बैठक बसी २० मिनेट समय व्यतित भयो ।

२. २०७४ फागुन २१ गतेको बैठकमा प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्म सभाको बैठक सञ्चालनको लागि “प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४” सर्वसम्मतिबाट पारित भएको थियो ।

३. २०७४ फागुन २२ गतेको बैठकबाट १३ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको गठन भएको थियो । २०७४ चैत १२ गतेको बैठकले उक्त समितिमा सदस्यको नाम हेरफेर गर्नुका साथै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको कार्यक्षेत्रमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीको मस्यौदा गर्ने कार्य समेत थप गरिएको थियो ।

४. २०७४ फागुन २६ गतेको बैठकमा प्रतिनिधि सभाको सभामुख पदको लागि भएको निर्वाचनमा सभामुख पदमा मा० श्री कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको थियोे भने २०७४ चैत २ गतेको बैठकमा प्रतिनिधि सभाको उपसभामुख पदको लागि भएको निर्वाचनमा मा० श्री शिवमाया तुम्वाहाङ्फे बहुमतबाट निर्वाचित हुनुभएको थियो ।

 

५. २०७४ फागुन २७ गते सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिन प्रस्तुत गर्नुभएकोमा उक्त प्रस्ताव २०८ मतले पारित भएको थियो भने विपक्षमा ६० मत परेको थियो ।

६. २०७४ चैत १५ गतेको बैठकमा सम्माननीय राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो ।

७. सम्माननीय राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन प्रति २०७४ चैत १६ गतेको बैठकमा माननीय श्री खगराज अधिकारी प्रस्तावक र माननीय श्री देवप्रसाद गुरुङ समर्थक भई प्रस्तुत भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो ।

८. यस अधिवेशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७४ फागुन २८ गते यू.एस.बंगला एयरको उडान नं. ग्द्यन् द्दज्ञज्ञ को विमान दुर्घटना सम्बन्धमा विशेष प्रस्ताव र पूर्व प्रतिनिधिसभा सदस्य खुमबहादुर खड्काको निधन भएकोमा शोक प्रस्ताव पारित भएको थियो ।

९. यसै अवधिमा सदनको विभिन्न बैठकहरुमा सम्माननीय प्रधानमन्त्रीले २०७४ चैत्र २ र चैत्र २० गते गरी दुई पटक र अर्थ मन्त्रीले २०७४ चैत्र १६ गते सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुभयो ।

१०.यस अधिवेशन अवधिभर “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४”, “राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४” र “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” बैठकबाट पारित भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!