पार्टी एकता वैशाख ९ गते : प्रचण्ड

चितवन, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते हुने बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले बाहिर आए जस्तो एमाले र माओवादीबीच पार्टी एकतामा कुनै विवाद नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बैशाख ९ गते दुई पार्टीको बीचमा एकता हुदैँछ, बाहिर आएजस्तो विवाद छैन, पार्टी एकता प्रतिशतका आधारमा हुदैँन, सिद्धान्तका आधारमा हुन्छ । तर, सम्मानजक एकता हुन्छ ।’

त्यस्तै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नयाँ र महत्वपूर्ण विषयहरुमा छलफल र सम्झौता नहुने बताउनु भएको छ ।

बखान सहकारी संस्था लि चितवनको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गर्न चितवन पुग्नुभएका अध्यक्ष प्रचण्डले भारतीय मीडियाहरुमा आएजस्तो महाकाली सन्धि र अन्य नयाँ कुनै पनि विषयमा सम्झौता नहुने बताउनु भएको हो ।

भ्रमण दुई देश बीचको मित्रता सम्बन्ध सुधारका लागि मात्र सीमित हुने उहाँले बताउनु भयो । ‘भ्रमण दुई देशीय सम्बन्धमा केन्द्रित हुन्छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

एकता संयोजन समितिको प्रतिवेदन आउन केही ढिला भएका कारण घोषणा गर्न ढिला भएको उहाँले बताउनु भयो । मंगलबार साँझसम्म प्रतिवेदन शीर्ष नेताले प्राप्त गर्ने पनि अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!