श्रीमान् फेर्दै, सम्पत्ति कुम्ल्याउँदै

नेपाली समाजमा विवाह सम्बन्ध महिला–पुरुषलाई जीवनपर्यन्त एक–अर्कासँग जोड्ने डोरी मानिन्छ, तर फैलँदो आर्थिक दायरा, सामाजिक एवं मानसिक विचलन तथा सुखभोगको लालसाका कारण त्यही डोरी श्रीमान्को सम्पत्ति हड्प्ने गलपासो बनिरहेको पाइन्छ ।

बाह्रबीसे नगरपालिकाअन्तर्गतको विकट गाउँकी समीक्षा कार्की (नाम परिवर्तन) को काठमाडौंका देवेन्द्र आचार्यसँग प्रेम बस्यो । २४ वर्षीया समीक्षा र २३ वर्षीय देवेन्द्र दुवै एक–अर्काबिना बाँच्न नसक्ने भएपछि परिवारको सहमतिमा धूमधामसँग विवाह भयो ।

विवाह गरेको एक वर्षमा उनीहरूको छोरा भयो । छोरा पाएपछि समीक्षाले माइत आएको मौका पारेर इलाका प्रहरी चौकी बाह्रबीसेमा श्रीमान्ले आफूलाई यातना दिएको जाहेरी दिइन् । श्रीमान् देवेन्द्रले आफूले पारपाचुके गर्न नचाहेको भन्दै इन्कार गरे । हेर्दाहेर्दै विवाद चर्किएर परिवारको प्रतिष्ठासम्म पुग्यो । त्यसपछि समीक्षाले आफ्नो ३ लाख रुपैयाँ लिँदै देवेन्द्रसँग डिभोर्स गरिन् ।

श्रीमान् देबेन्द्र र उनको परिवारले त्यसैमा चित्त बुझाए । फेरि वर्ष दिनपछि तीनै समीक्षा अर्का श्रीमान्विरुद्ध हकदाबी गर्दै प्रहरी चौकी पुगिन् । त्यतिबेला प्रहरीले आलटाल गर्ने कुरै थिएन । दोस्रो श्रीमान् दलेन्द्र खड्का (नाम परिवर्तन) सँग २ लाख लिएर उनी अकस्मात् गायब भइन् ।

जुगल गाउँपालिकाकी २७ वर्षीया मिठु विक एक्कासि घरबाट हराइन् । प्रहरी र पति यमराजद्वारा उनको तीव्र खोजी गरियो । घरबाट सुन र पैसा लिएर हिँडेकी मिठुले वर्ष दिनपछि नयाँ श्रीमानसँगै घरमा आएर आफ्नो हक मागिन् ।

लामो समयपछि भेटिएकी श्रीमती अरूसँगै आएपछि श्रीमान् छाँगाबाट खसेजस्ता भए । अझ, त्यसमाथि आफ्नो सम्पत्तिमाथिको हकदाबीले उनलाई हैरान बनायो । दुवैबीच हात हालाहालको अवस्था सिर्जना भयो । कुरा प्रहरीसम्म पुगेपछि श्रीमान्ले श्रीमतीको इच्छाबमोजिम सम्पत्ति दिन करै लाग्यो ।

श्रीमान् यमराजतर्फका दुई सन्तानलाई समेत बेसहारा बनाएर श्रीमती मिठु नयाँ श्रीमान् बेतकुमारसँग लागिन् । नौ महिनापछि फेरि तिनै मिठु बेतकुमारले आफूविरुद्ध यौनहिंसा गरेको भन्दै सम्बन्ध तोड्ने क्रममा जिल्ला प्रहरी कार्यालय धाइरहेकी भेटिइन् । लामो समयपछि वेतसँग राम्रै रकम लिएर उनी नयाँ युवक सुवाससँग बेपत्ता भइन् ।

त्रिपुराकै २८ वर्षीया कबोलमाया थामीले एक वर्ष नपुग्दै श्रीमान् हलबहादुर तिमल्सिनासँग सम्बन्ध तोडिन् । विवाहमा आएको पैसा र गहना लिएर हराएकी थामी काठमाडौंमा नयाँ श्रीमान् द्रविन्द्र दंगालसँग फेला परिन् ।

गहना किन्न नसकेका कारणले कबोलमायाले घर छाडेको छिमेकीहरूको अनुमान थियो । काठमाडौंका द्रविन्द्रसँग पनि उनको सम्बन्ध टिकिरहन सकेन । दुई वर्षपछि उनीहरूबीच सम्बन्ध–विच्छेद भयो । कबोलमायाले आफूलाई कुटपिट गरेको भन्दै छोडपत्र मागिन् । द्रविन्द्रलाई छोडेलगत्तै अहिले थामीले कवीन्द्र घोरासैनीलाई नयाँ श्रीमान् बनाएकी छिन् ।

विवाह गरेको आठ महिना नपुग्दै चौतारा साँगाचोकगढी नगरकी कान्ती तामाङले एकाएक कसैलाई खबर नदिई घर छाडिन् । श्रीमान् सुरेन्द्र गुरुङ र आफूले जम्मा गरेको सबै रकम लिएर हराएकी कान्ति झन्डै १० महिनापछि घर फर्किइन् ।

नयाँ श्रीमान् सुरेशसँग जमेकी कान्ति घरमा आफू बाँचेको खबर दिन आएको भन्दै बिदा भइन् । यद्यपि सुरेशसँग उनको सम्बन्ध टिक्न सकेन । आठ महिना नपुग्दै उनले आफ्नो हकको रकम लिन उजुरी हालिन् । कान्ति अदालती प्रक्रियाबाट आफ्नो हिस्साको सम्पत्ति लिएर बेपत्ता भइन् ।

माथिका घटना केही प्रतिनिधि घटना मात्र हुन् । सिन्धुपाल्चोकमा यस्ता दर्जनौं घटना प्रहरी तथा अदालतसमक्ष पुगेका छन् । ‘सेन्टिमेन्ट’को प्रयोग गरेर सम्पत्तिका लागि विवाह गर्ने स्वभाव भएका महिलाका कथा प्रशस्तै छन् । सम्पत्तिको प्रलोभनमा परेर अधिकार भन्दै श्रीमान् फेर्ने क्रम अत्यधिक बढेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेल बताउँछन् ।

अरूको जीवनशैलीबाट प्रभावित भएको वा आन्तरिक असन्तुष्टिका कारण दम्पतीहरू छुट्टिने गरेको प्रहरी उपरीक्षक पोखरेल बताउँछन् । वैवाहिक सम्बन्धलाई जीवनपर्यन्त सम्बन्धका रूपमा लिने नेपाली समाजमा घट्न थालेका यस्ता घटनाले पूर्वीय समाजको महत्वपूर्ण सामाजिक परम्परा विवाह–सम्बन्ध नै धर्मराउन थालेको आभास हुन्छ ।

यसमा महिला–पुरुष दुवै दोषी देखिएको महिला तथा बालबालिका कार्यालयकी नानीमैयाँ बस्नेत बताउँछिन् । ‘सम्पत्ति नै हडप्न विवाह गर्नेहरूमा प्राय: पढेलेखेका पाइन्छन्, बदलिँदो प्रविधि र आधुनिकताले यस्तो अवस्था निम्त्याइरहेको छ भन्दा फरक पर्दैन,’ उनले भनिन् । यस्ता घटनामा केही अपवादका रूपमा कम पढेलेखेकाहरू संलग्न रहने उनले बताइन् ।

प्रहरी र सामाजिक कार्यक्रमले रोक्न नसकेको अवस्थामा यस्तो स्वभाव जताततै मौलाइरहेको छ । ललाइफकाइ वा पर पुरुषसँगको प्रेमबाट प्रभावित भएर यस्ता घटना घट्ने बस्नेतको अनुभव छ । फेसबुक, ट्विटर, इमो आदिको तीव्र विकासससँगै सम्बन्धमा नयाँ–नयाँ किसिमका समस्या सिर्जना हुन थालेका छन् । अरूको सुविधासम्पन्न जीवनस्तर देखेर उनीहरूमा यस्तो ‘आइडिया’ आएको हुन सक्ने बस्नेतको बुझाइ छ ।

मनोवैज्ञानिक रूपमा अति दु:ख पाएका वा धेरै सुखी जीवन बिताइरहेको अवस्थामा अचानक जीवनस्तर खस्किएपछि पहिलेकै अवस्थामा आउन पनि यस्ता घटना हुने गरेका छन् । ‘२–४ लाख रुपैयाँका लागि विवाहको नाटक गरेर अलग्गिने घटना पनि प्रशस्तै छन्,’ बस्नेत भन्छिन् । साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!