सूर्यविनायक नगरपालिकाबाट घरदैलो व्यवसाय दर्ता

भक्तपुर । सूर्यविनायक नगरपालिकाले घरदैलो व्यवसाय दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको चारवटा टोली बनाएर व्यवसाय दर्ता अभियान शुरु गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई दर्ता गर्ने र करको दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जानकारी दिंदै उहाँले भन्नुभयो– “पसल, उद्योग तथा व्यवसाय दर्ता नगरी सञ्चालन भएका छन्, कतिपय दर्ता भएकाले पनि नियमित नवीकरण गरेका छैनन्, व्यवसायलाई दर्ता गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने तथा करको दायरामा ल्याउने हाम्रो अभियान हो ।”

सूर्यविनायक चोकका व्यवसायीको व्यवसाय दर्ता गरेर प्रमाण वितरण गर्दै नगर प्रमुख थापाले उद्घाटन गर्नुभएको अभियान नगरपालिकाको १० वटै वडामा सञ्चालन भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत दिपेश खड्काले जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकालाई हरेक क्षेत्रबाट उत्कृष्ट बनाउने लक्ष्यका अभियान शुरु गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रशासन शाखाका पुष्कर बरालले नगरपालिकाले एकैदिन १०० वटा व्यवसाय दर्ता गरेको जानकारी दिँदै यो अभियान नगरपालिका क्षेत्रभित्रका सबै व्यवसाय दर्ता गरेपछि मात्रै सम्पन्न हुने बताउनुभयो। व्यवसायीको सहजताका लागि टोलीले घरदैलोमै पुगेर व्यवसायको सबै प्रक्रिया पुर्याएर त्यही दर्ता गरी प्रमाणपत्र दिने गरिएको छ ।
आगामी असार मसान्तसम्म नगरको आन्तरिक आम्दानी रु आठ करोड पुर्याउने लक्ष्यका साथ अभियान सञ्चालन भएको हो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!