के साँच्चै नून र अन्न नखार्इ मानिस बाँच्न सक्लान् त ?

नून र अन्न नखाएपनि निरोगी र सक्रिय जीवनाथ

मोरङ । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ? हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ ।

तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाउनु भएको मात्र छैन हाल त उहाँले २०६८ देखि त खाँदै आएको कन्दमूलसमेत त्याग गर्नुभएको छ ।

हाल ८२ वर्षमा हिँडिरहनुभएका भट्टराई के अन्न र नून बिना रहन र काम गर्न सक्नुहुन्छ त ? भन्ने स्वाभाविक प्रश्नमा उहाँको उत्तर यस्तो छ— काम गर्नमा युवाहरुले भेट्दैनन् ।

मानिसमा भगवान्को भक्ति भावना र अठोट भयो भने यो सम्भव छ भन्ने कुरा उहाँले प्रमाणित गर्नुभएको छ ।

सात वर्षकै उमेरमा उहाँले नून र अन्न खान छोड्नुभएको रहेछ र आलु, तरुल, सख्खरखण्डजस्ता कन्दमूल खानु हुँदोरहेछ । यस्तै, खाएर नै उहाँले ७५ वर्ष व्यतीत गरिक्नुभएको रहेछ । यस्तो आहाराको भरमा पनि भट्टराई सामाजिक क्षेत्रमा सक्रिय रहनुभयो भने छरछिमेक मात्र होइन टाढाटाढाका आगन्तुकलाई पनि धामीका रुपमा उपचार गरी निको पार्दै आउनुभएको छ ।

भोजपुरको भुल्केमा १९९३ असोज ११ मा जन्मनुभएका उहाँ त्यस बेला विद्यालय नभएकाले विद्यालय शिक्षा प्राप्त गर्न सक्नुभएन भने घरमै अक्षर चिनी भागवत, रामायण, गीता आदि पढ्न सक्ने हुनुभयो ।

युवावस्थामा एकपटक झापामा एकजना गुरुको भान्से बसेर काम गरेकोबाहेक अन्यत्र गई काम गर्नु भएन भने आफ्नै खेती किसानी तथा धार्मिक गतिविधिमा संलग्न हुनुभयो । उहाँ यही क्रममा पहाड छोडेपछि सुनसरीको कालापानी (चक्रघटृी), रामधुनीको मानपुर, पकली, इटहरी बसाइँ सर्दै हाल गोठगाउँमा एउटा भगवतीको मन्दिर खडा गरी त्यहीँ श्रीमतीसहित बस्नुभएको छ ।

चार भाइ छोरा र एक बहिनी छोरीका पिता उहाँका छोराछोरी सबै छुट्टिएका र छोरीको विवाह भइसकेको छ । उहाँको धार्मिक लगाव र व्रत ध्यानका कामले सगोलमा बस्न सहज नभएको उहाँका साहिँला छोरा समाजसेवी शिव भट्टराई बताउनुहुन्छ । छोरा कृष्ण र हरि छुटिृनुभएको छ भने कान्छा श्यामवावुको केही बर्ष अगाडि निधन भएपछि भने वृद्व जीवनाथ शोकमा पर्नुभएको छ ।

बयासी वर्षे वृद्ध जीवनाथ पूर्णरुपमा स्वस्थ हुनुहुन्छ र अहिले पनि घरका सामान्य काम आफैँ गर्ने, खेतबारीमा खन्ने, एउटा गाई पालेर त्यसको स्याहार गर्ने, घाँस काट्ने आदि गर्नुहुन्छ । उहाँको खान्की भने केवल दिनभरमा तीनवटा स्याउ रहेको छ । उहाँ त्यसलाई उसिनेर हलुवाजस्तो बनाएर अलिअलि खाने गर्नुहुन्छ ।

उहाँ चिया खानु हुन्न, खाएमा घरकै तुलसीको धुलोको चिया मात्र, दूध खाएमा घरमै पालेको कैली गाईको दूध मात्र खानेगर्नु हुन्छ । कामधेनु गाई भन्नु नै कैली गाई हो त्यसको दुधमा शक्ति हुन्छ भन्नुहुन्छ, जीवनाथ ।

एकपटक सामान्य चोटपटक लागेर विराटनगर अस्पताल लगिएकोमा डाक्टरले उहाँ पूर्ण स्वस्थ भएको, कुनै रोग नभएको, बरु अलिकति केही खाइदिए राम्रो हुने भन्ने सुझाव मात्र दिएको छोरा शिव बताउनुहुन्छ ।

उहाँ केही नखाइ पनि बाँच्ने अभ्यास गर्नुहुन्छ । केही नखाइ कसरी यस्तो शक्ति प्राप्त हुन्छ र निरोगी भइन्छ त भन्ने जिज्ञासामा जीवनाथ भन्नुहुन्छ, “आफ्ना बुबा भवानीप्रसाद भट्टराई पनि यस्तै ध्यानी भएकाले आफूले पनि आत्मज्ञानबाटै नून, अन्न छोडी भगवान्को ध्यान र व्रत गरेकाले नै शक्ति प्राप्त भएको हो । उहाँले घरमै भगवतीको मन्दिर स्थापना गर्नु भएको छ भने ‘बूढीबज्यू’ भनिने भगवतीको आस्था र पूजा गर्नुहुन्छ ।

उहाँ वैशाखे पूर्णिमा, ऋषि तर्पणी आदिमा २४ अ‍ै घण्टा नखाइ व्रत बस्नुहुन्छ भने नौरथामा पनि पञ्चमीदेखि सप्तमीसम्म केही नखाइ व्रत बस्नुहुन्छ । उहाँले चिनी पनि त्याग्नुभएको छ ।

जीवनाथ आफ्नो ब्रत र ध्यानले नै स्वस्थ र सक्रीय रहन सफल हुनुभएको इटहरी—४ का मच्छिन्द्रवहादुर बस्नेत र भरत खतिवडा बताउनुहुन्छ ।

उहाँ गाईको मोही भने खानु हुन्छ । बुहारी भावना नेपालका अनुसार आमा सावित्रादेवी पनि निरोगी हुनुहुन्छ र सामान्य खाना खानु हुन्छ तर उहाँले पनि नून तेल छोड्नुभयो र अलिनो खानुहुन्छ, घरबाहिरको घिउ पनि चलाउनुहुन्न ।

जीवनाथले आफ्नो शक्तिबाट धेरैलाई रोगमुक्त पार्नुहुन्छ भने उहाँबाट आरोग्य प्राप्त गर्न झापा, सुनसरीलगायत विभिन्न जिल्ला का साथै काठमाडाँै तथा भारतको आसाम, सिक्किमबाट समेत मानिसहरु आउँछन् र सन्तुष्ट भएर जान्छन् ।

उहाँले यही शक्ति र सक्रियताबाट नै विभिन्न संघसंस्थामा रही कार्य गर्नु भएको छ भने भट्टराई कूल विकास प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा समेत कार्य गरी गोठगाउँमा देवली गराउन महत्वपूर्ण भूमिका पनि खेल्नुभएको थियो ।

यसरी भगवान्को भक्ति र व्रतको शक्तिबाट वृद्धावस्थामा पनि निरोगी र सक्रिय रही समाजमा योगदान गर्न सकिन्छ भन्ने कुरा वृद्ध ध्यानी जीवनाथले प्रमाणित गर्नुभएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!